काभ्रे, १९ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा मण्डनदेउपुर नगर समितिको आयोजनामा प्रवचन कार्यक्रम बालुवापाटी–२ मा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले भन्नुभयो, “हरेक पार्टीको सिद्धान्त र वर्गीय आधार हुन्छ । सिद्धान्त र वर्गीय आधार भएन भने पार्टी नभएर एक चौतारी र भिड मात्र बन्छ । हामी काम गरी खाने र श्रममा बाच्ने कामदारवर्गको हितमा नेमकिपा स्थापना भएको हो । नाफा र शोषणका कारण हामी गरिब भएका हौँ । हाल केही सयको हातमा विश्वको सम्पत्ति थुप्रिएको छ ।”
उहाँले भन्नुभयो, “सारा जनताको हितमा सङ्घर्ष गर्नु नै राजनीति हो । जहाँ भए पनि हामी सबै मिलेर सङ्घर्ष गर्यौँ, अगाडि बढ्यौँ भने एक दिन सफल हुनेछौँ । पैसाले शक्ति, सत्ता र कानुनमाथि नियन्त्रण जमाउने, व्यक्तिगत फाइदा मात्र हेर्ने हालको पुँजीवादी व्यवस्थाका विरूद्ध सबै मिलेर लड्नुको विकल्प छैन ।”
उहाँले अगाडि भन्नुभयो, “नेपालमा राणा शासन उन्मूलनको समयतिरै स्वतन्त्र भएको भारत र चीन आज कुन अवस्थामा छ । हाम्रो अवस्था कस्तो छ, तुलनात्मक अध्ययनको खाँचो छ । क्रान्ति हुनुपूर्व चिनियाँ जनतालाई जापानीहरू कुकुरभन्दा तल्लो दर्जाका ठान्थे । अहिले चिनियाँ जनताको जीवनस्तरमा आमूल परिवर्तन भएको छ । तर, नेपालका सरकारमा जाने पार्टी, नेताहरू दलाल र पुँजीवादी व्यवस्थाको हिमायती हुँदा हामीले दुःख पायौँ ।”
कार्यक्रमका सभापति एवं नेमकिपा मन्डनदेउपुर नगर अध्यक्ष कृष्णबहादुर तामाङले चुनावमा हारजित हुनु स्वाभाविक भएको तर जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्नु ठुलो काम भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशभक्त भनेका देशका लागि बलिदान दिने व्यक्तिहरू हुन् । नेमकिपा २०४६ अगाडिदेखि नै पञ्चायती व्यवस्थामा भूमिगत रूपमै नाल्दुममा सक्रिय रहेको थियो । नेमकिपाकै अगुवाइमा ठाउँठाउँमा विद्यालय खोल्ने, खानेपानी व्यवस्थापन गर्ने, बाटो खन्ने काम गरेको थियो ।”
“कर्र्मचारीलाई तलब खुवाउन विदेशीसँग ऋण लिने सरकारले विकास गरेको धक्कु लाउनुमा कुनै तुक छैन । नेमकिपा निरन्तर कामदार जनताको पक्षमा छ”, उहाँले भन्नुभयो ।
नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटा विचारहरूको खण्डन गर्दैै कामदार वर्गको हितमा नेमकिपा स्थापना भएको नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले बताउनु भयो ।
कार्यक्रममा नेक्रामसङ्घ भक्तपुर नगर सदस्य छोरीमैया सुजखूले जनताका समस्या समाधानमा कार्यकर्ताहरूले भूमिका खेल्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा कर्म वाईबा, पूर्णबहादुर तामाङ र रविन तामाङले पनि बोल्नुभएको थियो ।