काठमाडौँ, २० माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) द्वारा लिखित पुस्तक ‘समाजवाद र सान्दर्भिक विषयवस्तु’ बारे आइतबार अध्ययन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “नेपालका कतिपय सांसदहरू चीनका नेता सि चिनफिङ, प्रजग कोरियाका नेता किम जङ उन, क्युवाका नेता मिगुयल डाय्ज क्यानेलको साम्राज्यवादविरोधी अडानबारे जानकारीमा राख्दैनन् । माघ १८ गतेको संसद् बैठकमा एक सांसदले कम्युनिस्ट पार्टीको सरकारमा पार्टी नेता र सरकार प्रमुख एउटै हुने भनी आपत्ति जनाए । मुख्य विषय एउटै व्यक्ति सरकार प्रमुख र पार्टी प्रमुख हुनु र नहुनुमा होइन† मुख्य विषय भ्रष्टाचार भयो कि भएन भन्ने हो । व्यक्तिगत वा नजिकको लागि सम्पत्ति कुम्ल्याउनेहरु पदमा पुग्नु भएन । नेपालमा बहुदलीय व्यवस्था पुनःस्थापन यता ३५ वर्षमा भ्रष्टाचार झन्झन् बढ्दै आएको महालेखा परीक्षकको प्रतिवेदनबाट देखाउँछ ।”
“सरकारको उपप्रधानमन्त्री भएर एमसीसी सम्झौतालाई समर्थन गर्ने र अध्यादेश जारी गर्नेहरू अहिले एमसीसी र अध्यादेशको विरोधमा बोल्नु अवसरवादी नै हुन् । निर्वाचन र सरकारमा सिद्धान्तहीन गठबन्धन गरेकाहरूले संसद्मा उपदेश दिनुको कुनै तुक छैन, उहाँले भन्नुभयो ।
“राजनीतिक दल दर्शन र वर्ग आधारमा स्थापना र सञ्चालन हुने हो । सिद्धान्तमा होइन, राष्ट्र बैङ्कको नोटको आधारमा पार्टी विस्तार गर्नेहरूकै कारण राजनीतिमा अपराधीकरण बढेको हो”, सचिव सुवालले प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीहरू देशका भविष्य हुन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे विद्यार्थीहरूले व्यवस्थित अध्ययन गर्नु जरूरी छ ।”
केन्द्रीय समितिका पदाधिकारीहरूले पुस्तकका लेखहरूबारे आफ्नो अध्ययन सार र टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।