भक्तपुर, २६ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा रामेछाप–काठमाडौँ सम्पर्क समितिको आयोजनामा शनिबार एक प्रशिक्षण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले राजनीति सबै नीतिको मूल नीति भएको हुँदा राजनीति बिग्रिएपछि देश र जनताले दुःख पाउनेछन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्न २०३१ साल माघ १० गते नेमकिपा स्थापना गर्नुभएको हो । नेमकिपाले कार्यकर्ताहरूलाई देश र विदेशको राजनीतिक विषयमा कक्षा सञ्चालन गरी राजनीतिकस्तर माथि उठाउँदै छ । पार्टीमा फूलको माला र अबिर लगाएर पार्टी प्रवेश गराउने व्यवस्था गरिँदैन ।”
विदेशीसँग पैसा लिएर पार्टीको महाधिवेशनमा कार्यकर्तालाई बाँडेर सभापति हुने र निर्वाचनमा भोज खुवाएर सरकारमा पुग्नेहरूबाट देश र जनताको सेवा हुँदैन, सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “जन्मको आधारमा विदेशीलाई नेपालको नागरिकता दिने, अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौता, अमेरिकी सेना आएर नेपालको ब्यारेक कब्जा गर्ने एसपीपी साझेदारी, बिजुली बत्ती बाल्ने र निभाउने स्वीच भारतको दिल्लीमा रहने सार्क विद्युत् ग्रिड, सौर्य ऊर्जा उत्पादन गर्न भारतसँग अनुमति लिनुपर्ने सौर्य गठबन्धनसम्बन्धी सम्झौता खारेज गराउन नेमकिपाले आवाज राख्दै छ ।”
सचिव सुवालले भन्नुभयो, “३५ वर्षयता सरकारमा गएकाहरूले देश र जनताको हितमा एउटा पनि उल्लेखनीय काम गरेका छैनन् । यसबारे नेपाली कामदार वर्गका जनतालाई सचेत र शिक्षित पार्नु नेपाली बुद्धिजीवीहरूको कर्तव्य हो । बुद्धिजीवीहरू स्वार्थको लागि गलत बाटोमा लाग्नुले देशलाई घात हुनेछ ।
कार्यक्रममा नेमकिपाका कार्यकर्ता श्यामकृष्ण खत्री र राम थुसाले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
सम्पर्क समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कुमार श्रेष्ठ र श्रीराम श्रेष्ठले पनि बोल्नुभएको थियो ।
भेलाले धनबहादुर श्रेष्ठको अध्यक्षतामा रामेछाप–काठमाडौँ सम्पर्क समिति गठन गरेको छ ।