काठमाडौँ, २९ माघ । देश र जनताका केही महत्वपूर्ण विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु :
अहिलेसम्म सत्ताको भित्र बाहिर गर्नेहरूले सम्झनुपर्ने एउटा काम गरेका छैनन् । संसद्मा अधिकांश सांसदहरूको अभिव्यक्तिले यसैलाई सङ्केत गरेको छ । नेपालीलाई २६ खर्ब ऋण बोकाएर बनाएको सडक–पुललाई सरकारले आफूले बनाएको दाबी गर्नु लज्जाको विषय हो ।
सरकारले प्रजातन्त्र दिवस भव्य बनाउने निर्णय ग¥यो । देशको आन्तरिक उत्पादन घट्दो छ । आयात बढ्दो छ । सार्वजनिक ऋण २५ खर्ब बढी पुग्यो । सरकारले नेपाली युवालाई देशभित्र रोजगारी नदिई करोडौँको सङ्ख्यामा विदेश पठायो भने डाक्टर–इन्जिनियरलाई पनि नेपालमा सेवा नगराई विदेश पठाउँदै छ । वैदेशिक रोजगारीमा पठाउने भनी ठगहरूले ५ महिनायता ६ अर्ब रुपैयाँ बढी ठगेको सार्वजनिक भयो । श्रम मन्त्रालय के गर्दै छ ?
छ लाख बढी बालबालिका विद्यालयबाहिर छन् । विद्यालय पुगेकाहरूलाई पनि जनशक्ति र पूर्वाधार उपलब्ध छैन । शिक्षा मन्त्रालय के गर्दै छ ? आर्थिक समानता, सन्तुलित विकास, सामाजिक न्यायबिना प्रजातन्त्र दिवस भव्य हुने छैन ।
कोसी व्यारेजको विकल्प खोज्ने निहुँमा १० किमि उत्तरतर्फ २८६० मिटर लामो पुल बनाउने सरकारको निर्णयले मानव र हात्तीको द्वन्द्व झन् बढ्नुका साथै नेपालको जलस्रोत थप गुम्ने छ । यसकारण, नेपाली जनता थप चिन्तित छन् । नेपाली काङ्ग्रेस र एमालेको यस्तो सहकार्यले देशको अस्तित्वमाथि आँच पुग्नेछ ।
नेपालको आर्थिक क्रियाकलाप माथि उठाउन नेपालमा ८० प्रतिशत वस्तु आयात हुने भारतको संसद्, सरकार र अर्थतन्त्रमा सीमित नभई छिमेकी मित्र देश चीनले गरेको गरिबी उन्मूलनबाट पाठ सिक्नु जरुरी छ । चीनले दक्षिण सिन्च्याङ उइगुर क्षेत्रको ताक्लामाकन मरुभूमिलाई हरिया फाँटमा रुपान्तरण गरेको छ । भारतीय जनस्तरमा चीन लोकप्रिय बन्दै छ । चीनले युरोपदेखि ल्याटिन अमेरिका, एसिया, अफ्रिकी देशहरूलाई अगाडि बढ्न सघाउँदै छ ।
मेक्सिकोका राष्ट्रपतिले ट्रम्पको २५ प्रतिशत भन्सार वृद्धिको जवाफमा प्रश्न गरे, “अमेरिका सबथोक होइन, संसारमा ७ अर्ब उपभोक्ताले अमेरिकी उत्पादन बहिष्कार गरे के होला ?”
जलवायु परिवर्तनका कारण सन् २०५० सम्म विश्वमा १ करोड ४५ लाख मानिसको मृत्यु हुनेछ भने त्यसमध्ये बाढी र पहिरोमा ८५ लाख तथा खडेरीको कारण ३२ लाख मानिसको मृत्यु हुनेछ । विकसित देशको प्रगतिबाट विकासशील देशलाई मारमा पर्न दिनु हुँदैन । सगरमाथा संवादमा हानिकारक ग्यास उत्सर्जनको जिम्मा औद्योगिक देशलाई लगाउनु आवश्यक छ ।
काठमाडौँ उपत्यकामा बढ्दो बसाइँसराइको कारण धुलो, धुवाँ, ध्वनि प्रदूषण र फोहोरमैला बढ्यो । यहाँका बासिन्दालाई भारतबाट दाल, चामल, तरकारी, फलफूल ल्याएर पाल्ने सरकारले कृषिप्रधान देश दाबी गर्नु अर्को लज्जाको विषय हो ।
पुष्पलाल श्रेष्ठ र बीपी कोइराला दुवैले भारतीय पुँजीको सेवा गर्ने राणा शासनविरुद्ध लड्नुभएको थियो । तर, आज उहाँका शिष्यहरूले यो विषयलाई किन बिर्सदै छन् ?
भक्तपुरको दुवाकोट र चाँगुनारायण वरिपरि अवैध रूपमा बालुवा र माटो उत्खनन् भइरहेको धेरै भयो । दोषीलाई कारबाही नहुँदा अपराधीको मनोबल बढ्दो छ ।
ठेक्कापट्टाको मूल्याङ्कन विधि नै भ्रष्ट भएको सार्वजनिक भयो । सरकारमा गएकाहरूमा त्याग र स्वयम्सेवी भावना नहुँदा देश र जनतालाई दुःख भइरहेको छ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८१ माघ २९ गते प्रतिनिधिसभा बैठकको विशेष समयमा राख्नुभएको मन्तव्यको सार–सं)