भक्तपुर, २२ फागुन । नेपाल क्रान्तिकारी किसान सङ्घ केन्द्रीय समितिको आयोजनामा तेस्रो राष्ट्रिय सम्मेलनपश्चात्को पहिलो परिषद् नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको आतिथ्यमा भक्तपुरमा सम्पन्न भयो ।
प्रमुख अतिथि प्रजापतिले अरूको भरमा युद्ध लड्ने र बाँच्ने मानिसहरू कहिल्यै गतिलो नहुने चर्चा गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीको हालत पनि यही अवस्थामा पुगेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिका र युरोपेली देशहरूको उक्साहटमा रसियाविरूद्ध छद्म युद्ध जेलेन्स्कीले लडेको हुँदा अहिले आएर अमेरिकाले आफ्नै देशमा बोलाएर अपमानपूर्वक व्यवहार ग¥यो । युद्धमा भएको खर्च युक्रेनकोे आफ्नो दुर्लभ खनिज सम्पदामा आधा हिस्सेदारी खोज्यो । अरूको भरमा युद्ध लड्दा र अरूको हतियारले युद्ध लडेको कारण अहिले त्यसको मूल्य चुकाउन बाध्य भयो । युक्रेनले लाखौँ मानिसको क्षति व्यहोर्नु प¥यो ।”
केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “जुछे विचारधाराको आत्मसात गर्दै प्रजग कोरिया आत्मनिर्भर भई अगाडि बढिरहेको छ । कोरियाले खाद्यान्नलगायत हतियार र अन्य सम्पूर्ण क्षेत्रमा आत्मनिर्भर अर्थतन्त्रको विकास गरेको छ ।”
भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालय बनाई १५ लाख खर्चमा मेडिकल डाक्टर उत्पादन गर्ने उद्देश्य राखेको हुँदा राणा शासनका हिमायती शैक्षिक माफियाहरूको चलखेलले गर्दा नेपाल सरकारले स्वीकृति नदिएको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिक्षा क्षेत्रमा मात्र नभई स्वास्थ्य क्षेत्रमा पनि नेपाली जनताको सेवा गरिरहेको चर्चा गर्दै उहाँले नेपाल सरकारले ख्वप अस्पताललाई बीमा बापतको पैसा नदिएकोमा गुनासो गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनले देश र जनताको निःस्वार्थ सेवा गर्नको लागि नारायणमान बिजुक्छेँ (रोहित) को नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको चर्चा गर्दै उहाँले नेमकिपा अहिलेसम्म सत्ता प्राप्तिको फोहरी खेलमा नलागेको र सत्ता बाहिर रही देश र जनताको सेवा गरिरहेको छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले किसान सङ्घका कार्यकर्ताहरू जिल्ला–जिल्ला र गाउँ–गाउँमा गई किसानका समस्याहरू पहिचान गरी किसानहरूलाई सङ्गठित गर्नु जरुरी भएको बताउनुभयो ।
नेपाल कृषिप्रधान देश भएको हुँदा यहाँ अझ पनि ६९ प्रतिशत किसान भएकोले नेक्राकिसङ्घ किसानहरूको सम्पर्कमा रहेर काम गर्नुपर्ने बताउनुभयो ।
देशमा युवाहरू पलायन भएको, सरकारले सिँचाइको व्यवस्था गर्न नसकेको, समयमै रासायनिक मल उपलब्ध गर्न नसकेको, नेपालमै रासायनिक मल कारखाना स्थापना नगरेको, कृषिऔजार कारखाना बन्द अवस्थामा रहेको चर्चा गर्दै उहाँले नेपालमा कृषिको अवस्था निकै नाजुक भएकोले युवाहरू विदेसिन बाध्य भएको चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले भक्तपुरमा विगतमा भएको किसान आन्दोलनले गर्दा भक्तपुरका किसानहरूको आर्थिक अवस्था राम्रो भएको चर्चा गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले किसानहरू पनि अध्ययनशील हुनुपर्ने चर्चा गर्दै पार्टी प्रकाशन निरन्तर अध्ययन र अन्तरक्रियाको लागि अनुरोध गर्नुभयो । राष्ट्रिय र अन्तराष्ट्रिय राजनीतिबाट अलग्ग हुन नसक्ने हुँदा किसानहरू पनि सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
विभिन्न जिल्लाका किसानहरूले प्रतिनिधित्व गर्नुभएको उक्त परिषद्मा गुणदास महर्जन, वीरबहादुर डंगोल, श्याम महर्जन, शान्ता महर्जन, हरिशरण श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो ।