भक्तपुर, ५ चैत । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनको सन्देश तथा धन्यवादज्ञापन समारोह मङ्गलबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन गत फागुन १६ देखि २० गतेसम्म एक राजनीतिक कक्षाको रूपमा सम्पन्न भएको उल्लेख गर्दै महाधिवेशन सफल पार्न सहयोग गर्ने मजदुर, किसान, युवा, विद्यार्थी सबैलाई पार्टीले धन्यवाद दिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “महाधिवेशनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा पार्टीले स्पष्ट दृष्टिकोण तयार गरेको छ । राष्ट्रिय विषयमा कृषि उत्पादन बढाउने, देशमा रोजगारीको व्यवस्था गर्ने, नेपालीको लगानीमा जलविद्युत् उत्पादन गर्ने, देशको सन्तुलित विकास गर्नेलगायतलाई महाधिवेशनले जोड दियो ।”
नेपाली युवालाई भाडाको सिपाही बनाएको सन् १९४७ को गोर्खा भर्ती र नेपालाई भारतको सुरक्षा हातामा राख्ने सन् १९५० को सन्धि खारेज गर्नुपर्ने विषयमा महाधिवेशनले पुनः जोड दिएको उल्लेख गर्दै उहाँले अमेरिकी साम्राज्यवादको विरोधमा लाल सागर जाने स्वेज नहरमा संरा अमेरिकी, बेलायती र इजरायली जहाजहरूलाई अवरोध गर्दै यमनका हुथी विद्रोहीले प्यालेस्टिनी जनताको समर्थन गरिरहेको बताउनुभयो । अमेरिकी साम्राज्यवादले हुथी विद्रोहीलाई आक्रमण गर्ने निहुँमा यमनमा आक्रमण गरी दर्जनौँको मृत्यु र सयौँ घाइते भएको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले भारत र चीनलाई भिडाएर नेपालमा पनि प्यालेस्टिनी र युक्रेनमा जस्तै बमबारी गर्ने सम्भावना छ । त्यसो भएमा काठमाडौँ उपत्यकावासी एक चिहान हुनेछ । यो अन्तर्राष्ट्रिय परिस्थितिबारे नेपाली जनता सचेत भएर रहनु जरुरी छ ।”
“नेपालको राजतन्त्र केटाकेटी बेलाको लुगा ठुलो हुँदा ठीक नहुने भनेजस्तै हो । नेपाली जनताले अहिले राजतन्त्र स्वीकार गर्ने छैनन् ।”, उहाँले भन्नुभयो ।
सरकारमा गएका पार्टीहरूले सिद्धान्तहीन निर्वाचन गठबन्धन र संयुक्त सरकार गठन गरी देश र जनताको हितविपरीत काम गरेको हुँदा नेपाली जनता आक्रोशित भइरहेको उल्लेख गर्दै उहाँले देश र जनताको हितको निम्ति उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण जरुरी छ भन्नुभयो ।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका उपाध्यक्ष लक्ष्मीभक्त लासिवाले नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनले देश र जनताको पक्षमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरू पारित गरी बहुमत कामदार जनतालाई प्रशिक्षित गराउने उद्देश्य लिई अगाडि बढिरहेको छ भन्नुभयो । उहाँले राजनीति मागी खाने भाँडो होइन; निःस्वार्थरूपले सेवा गर्न हो; बहुसङ्ख्यक कामदारवर्ग राजनैतिकरूपले सचेत र सङ्गठित नभइकन देशमा परिवर्तन आउँदैन भन्नुभयो ।
कार्यक्रममा नेक्राकिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गंगाराम ज्याख्वको सभापतित्वमा भएको थियो । आठौँ महाधिवेशनमा हरेक क्षेत्रबाट सहयोग गर्ने स्वयम्सेवकहरूलाई बधाई दिँदै सदस्यद्वय आर. प्रजापति र पूर्णगोपाल राजचलले पनि धन्यवादज्ञापन गर्नुभयो ।