भक्तपुर, २१ चैत । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस) को कार्यक्रम गर्न बिहीबार जिल्लास्तरीय मजदुरहरूको भेला भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले मानव विकासको क्रममा व्यक्तिगत सम्पत्तिसँगै वर्ग विभाजन पनि सुरु भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “राजामहाराजा र सामन्तवर्गले मजदुर–किसानवर्गलाई दास (नोकरचाकर) बनाए । समयसँगै दासहरूले मालिकविरूद्ध विद्रोह गरे, भूदासहरूले सामन्तवर्गविरूद्ध सङ्घर्ष गरे, मजदुरवर्गले पुँजीपति वर्गविरूद्ध सङ्घर्ष गरे । युरोपको ‘मागपत्र’ को आन्दोलन, पेरिस कम्युन, बेलायतको क्रान्ति, फ्रान्सेली क्रान्ति, अमेरिकी स्वतन्त्रता आन्दोलन वर्गसङ्घर्षकै उदाहरण हुन् ।”
कामदारवर्गको हितको निम्ति समाजवादी व्यवस्था स्थापना गर्नु जरूरी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समाजवादमा उत्पादनका मुख्य मुख्य साधन र सेवा राज्यको हुनेछ । बहुदलीय व्यवस्था पुनःस्थापनाको ३५ वर्षयता सरकारमा गएका दलहरूले देश र जनताको निःस्वार्थरूपमा सेवा नगरेको हुँदा जनतामा असन्तुष्टि बढेको हो । यो जनअसन्तुष्टिलाई राजतन्त्र समर्थकहरूले अहिले उपयोग गर्न खोज्दै छन् । राजतन्त्रबाट देश र जनताको निःस्वार्थरूपमा सेवा भएको भए २०४६ सालमा त्यति छिटो परिवर्तन हुने थिएन । वर्तमान पुँजीवादी गणतन्त्रबाट देश र जनताको हित नहुने हुँदा अब समाजवादी गणतन्त्रतर्फ अघि बढ्नु आवश्यक छ ।”
सचिव सुवालले भन्नुभयो, “माक्र्स–एङ्गेल्सलगायत मजदुरवर्गका महान गुरूहरूलाई यसकारण हामी सम्झन्छौ किनभने उहाँहरू व्यक्तिगत स्वार्थ त्यागी संसारका कामदारवर्गको हितमा लाग्नुभयो । मजदुरवर्गले संसारका क्रान्तिकारीहरूको जीवनीबारे प्रेरणा दिएर अगाडि बढ्नु जरुरी छ । अन्तर्राष्ट्रिय मई दिवसले यही शिक्षा दिन्छ ।”
“सरकारमा गएका दलहरूले देश र जनतालाई २७ खर्ब रूपैयाँ ऋण बोकाएर विद्युत् र टेलिफोन विस्तार गरेको, सडक र पुल बनाएकोलाई विकास गरेको दाबी गर्दै छन् । आफ्नो बलबुत्तामा सरकारहरूले काम नगरेको पुष्टि भइरहेको छ”, उहाँले भन्नुभयो ।
नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष उपेन्द्र सुवालको सभापतित्वमा भएको उक्त भेलामा डकर्मी सङ्घ भक्तपुर जिल्लाका विष्णुराम दुमरू, नेपाल क्रान्तिकारी मजदुर सङ्घ नगर समितिका अध्यक्ष गणेशप्रसाद सुवाल र रमेश दुमरूले पनि बोल्नुभएको थियो ।
भेलाले विष्णुराम दुमरूको संयोजकत्वमा १७ सदस्यीय १३६ औँ मे दिवस तयारी समिति गठन गरेको थियो ।