भक्तपुर, २४ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले खेलकुद पनि एक प्रकारको लडाइँ वा सङ्घर्ष भएको धारणा राख्दै खेलमा पछि हट्नु भनेको भाग्नु होइन भन्नुभयो ।
भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर – नगर जिम्नास्टिक प्रतियोगितामा भाग लिन भक्तपुर आएका विभिन्न १८ वटा नगरपालिकाका खेल प्रशिक्षक, अफिसियल र खेलाडीहरूबिच आइतबार भएको भेटघाट कार्यक्रममा अध्यक्ष बिजुक्छेँले सरकारले सहयोग गर्छ भन्ने भावनाले होइन हरेक स्थानीय तहले आ–आफै विकास गर्छौँ भन्ने सोचले अगाडि बढे देशको छिट्टै विकास हुने बताउनुभयो ।
खेलकुद अनुशासन र मित्रताको लागि अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले खेलकुदलाई जीवन पद्धतिको रूपमा विकास गर्न सके नागरिकहरू स्वस्थ हुने र स्वस्थ नागरिकहरूले मात्रै देशको सार्वभौमिकता रक्षा गर्न सकिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “युवाहरू देशका चालक शक्ति हुन् । हरेक विद्यालयमा खेल प्रशिक्षकहरू नियुक्ति गर्नु राम्रो हुनेछ । त्यसले युवा–विद्यार्थीलाई अनुशासित बनाउन सहयोग गर्नेछ, अनुशासित युवा–विद्यार्थीलाई खेलकुदले स्वस्थ बनाउँछ ।”
संसद्मा राजनीतिशास्त्र अध्ययन गरेका सांसदहरू कमी भएको कारण संसद् संसद्जस्तो नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “खेलाडी र खेलकुद प्रशिक्षकहरूले पनि राजनीतिशास्त्र विषय अध्ययन गर्नु आवश्यक छ ।”
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले शिक्षा, स्वास्थ्य उपचार, सम्पदा संरक्षण, सरसफाइ र रोजगारी प्रवद्र्धनबारे गरिरहेको कामबारे सङ्क्षिप्त जानकारी दिँदै भनपाले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी कार्य गरिरहेको स्पष्ट पार्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले आजको अवस्थामा पु¥याउन यहाँका अग्रजहरूले गर्नुभएको निःस्वार्थ सेवाको महत्वपूर्ण योगदान छ भन्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले खेलकुदमा नगरपालिकाले गरिरहेको गतिविधिबारे सङ्क्षिप्तमा जानकारी दिनुभयो ।
१८ वटै पालिकाका प्रशिक्षकहरूलाई प्रमुख प्रजापतिले नगरपालिकाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।