भक्तपुर, २९ चैत । नेपाल कर्मचारी समाज भक्तपुर जिल्ला समितिको आयोजनामा समाजको केन्द्रीय समितिद्वारा प्रकाशित ‘सन्देश’ बुलेटिनको अन्तरक्रिया तथा नव वर्ष २०८२ को शुभकामना कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर राजनीतिक रूपमा सचेत जिल्ला भएको उल्लेख गर्दै २०१७ सालपछि शोषण र अन्यायको विरोधमा पहिलोपटक भक्तपुरमा जुलुस भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले भियतनामविरूद्ध गरेको युद्धमा नेपालमा पहिलो पटक भक्तपुरमै जुलुस भएको थियो । भारतीय विस्तारवादले नेपाली भूमि सुस्ता अतिक्रमण गर्दा पनि भक्तपुरवासीले पहिलो पटक विरोध गरेका थिए ।” सङ्गठनका अग्रजहरूले गर्नुभएको योगदानबारे नयाँ पुस्तालाई सचेत गर्न सकेमात्र सङ्गठनप्रति आस्था बढ्ने धारणा अध्यक्ष रोहितले व्यक्त गर्नुभयो ।
कर्मचारी समाजका साथीहरू सुविधाभोगी हुन नहुनेतर्फ सचेत गराउँदै उहाँले हरेकले आफूलाई समीक्षा गरी क्रान्तिको लागि अगाडि बढ्नु जरूरी छ भन्नुभयो ।
अध्यक्ष रोहितले भन्नुभयो, “सांस्कृतिकस्तर नभएपछि सिद्धान्तमा अडिग रहन सकिन्न र विचलन आउने खतरा हुन्छ । अतः अध्ययनलाई जोड दिई सांस्कृतिकस्तर उकास्नेतर्फ लाग्नुपर्छ ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “जीवनमा पश्चाताप गर्नुपर्ने गल्ती गर्नुहुन्न । हरेस नखाई संसारको क्रान्तिबाट शिक्षा लिई अगाडि बढ्नु जरूरी छ ।”
शिक्षा–स्वास्थ्य निःशुल्क भएकै कारण समाजवादी देश क्युवाले २०० जना नागरिक बराबर एक जना चिकित्सक तयार गर्न सकेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले अफ्रिका, ल्याटिन अमेरिकाका देशहरूमा क्युवाले स्वयम्सेवक चिकित्सक पठाएर अन्तर्राष्ट्रिय कर्तव्य निर्वाह गरिरहेको छ भन्नुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष गौतमप्रसाद लासिवाले समाजवादी बन्दोबस्तमा नागरिकको सबै आवश्यकता राज्यले उपलब्ध गराउने भएकैले सबै नागरिकले देशको लागि काम गर्ने बताउनुभयो ।
वर्षभरिको कामको समीक्षा गर्दै नयाँ वर्षमा गर्ने कामहरूबारे योजना बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले हामीले गर्ने हरेक गतिविधि देश र जनताको सेवामा हुनुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि नरेश खत्रीले उपभोक्तावादी प्रवृत्तिविरूद्ध जोगिएर अगाडि बढ्नु जरुरी भएको उल्लेख गर्दै अमेरिकी साम्राज्यवादका कर्तुतबारे जनतालाई सचेत गराउनु जरूरी छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष काजीबहादुर पञ्चको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामकृष्ण प्रजापति, रामशरण त्वाती, विकास प्रजापति, कमलकेशरी राजचल, राजन कोजुलगायतले बुलेटिनमा प्रकाशित विभिन्न लेखहरूबारे आ–आफ्नो अध्ययन सार राख्नुभएको थियो ।
कार्यक्रममा आयोजक समितिका सचिव लक्ष्मीप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।