नेमकिपाको प्रेस विज्ञप्ति

भक्तपुर, २० पुस । भेनेजयुलामाथि संरा अमेरिकाले गरेको कायरतापूर्ण हमलाको विरोध र राष्ट्रपति मादुरो र उहाँकी श्रीमतीको सकुशल फिर्ताको माग गर्दै नेपाल मजदुर किसान पार्टीले आइतबाट प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । पार्टी सचिव प्रेम सुवालको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा उल्लेख छ –
“संरा अमेरिकी साम्राज्यवादले दक्षिण अमेरिकी स्वतन्त्र मुलुक भेनेजुयलामाथि जनवरी ३ मा (स्थानीय समयअनुसार राति २ः०० बजे) कायरतापूर्ण एवम् बर्बरतापूर्ण सैनिक हमला गरेकोमा नेपाल मजदुर किसान पार्टी विरोध एवम् भत्र्सना गर्दछ । यही पुस १८ र १९ गते सम्पन्न नेमकिपाको केन्द्रीय परिषद्ले भेनेजुयलामाथि अमेरिकी हमलाको विरोध गरी राष्ट्रपति मादुरो र उहाँकी श्रीमतीको सकुशल फिर्ताको माग ग¥यो ।
सन् १९९९ मा ह्युगो चाभेज राष्ट्रपति निर्वाचित भएयता भेनेजुयलामा बोलिभारियाली समाजवादी क्रान्ति अगाडि बढ्दै आएको हो । संसारका ठुला तेल खानीमध्ये भेनेजुयला पनि एक हो । भेनेजुयलाको तेल खानी तथा खनिज कब्जा गर्न जननिर्वाचित राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गर्ने षड्यन्त्रमा अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासन लागिरहेको हो ।
अमेरिकी साम्राज्यवादले सन् २०११ देखि भेनेजुयलामाथि आर्थिक तथा व्यापारिक नाकाबन्दी लगाउँदै छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुयाली जनतालाई खाद्यान्न तथा स्वास्थ्य उपचारबाट वञ्चित गर्ने थप कदम चलाउँदै छन् । अमेरिकी सरकारले राष्ट्रपति मादुरोमाथि लगाएको लागूपदार्थ ओसारपसारको आरोप झूटा र कपोलकल्पित हो । आफ्नो हैकम स्वीकार नगर्ने देशहरूमाथि हस्तक्षेप र आक्रमण गर्ने अमेरिकी साम्राज्यवादको नीति निन्दनीय छ । राष्ट्रपति मादुरोलाई बलपूर्वक गरिएको अपहरण अमेरिकी सरकारको मुनरो नीतिको सिलसिला हो ।
नेमकिपा भेनेजुयलाको सार्वभौमिकतामाथि हस्तक्षेप तुरुन्त बन्द गर्न ट्रम्प प्रशासनलाई सचेत गराउँदछ; राष्ट्रपति मादुरो र उहाँकी पत्नीलाई सकुशल फिर्ता गरी भेनेजुयाली जनताको स्वतन्त्रताको सम्मान, अन्तर्राष्ट्रिय कानुनको पालना तथा संयुक्त राष्ट्र सङ्घको बडापत्रको कदर गर्न आह्वान गर्दछ ।
भेनेजुयाली जनताको साम्राज्यवादविरोधी सङ्घर्षमा विश्वका जनतासँग नेमकिपा ऐक्यबद्धता व्यक्त गर्दछ । भेनेजुयला र क्यारिवियाली क्षेत्रमा युद्ध होइन शान्ति आवश्यक भएको पार्टीको दृढ अडान पुनः दोहो¥याउँछ । अमेरिकी प्रशासनले संसारका अन्य देशको सार्वभौमिकता र आन्तरिक मामिलामा हस्तक्षेप गर्न अविलम्ब रोक्न जरुरी छ । भेनेजुयला र ल्याटिन अमेरिकामा अमेरिकी हस्तक्षेप र आक्रमण तत्काल बन्द गर्न नेमकिपा अपिल गर्दछ ।”