भक्तपुर, ३ कार्तिक । देशको अर्थतन्त्रलाई कसरी आत्मनिर्भर बनाउने भन्ने विषयमा चिन्तन गर्नु आवश्यक छ ।
इन्जिनियर समाज नेपाल, नेपाल विद्युत् प्राधिकरण सर्कलको आयोजनामा नेपाल संवत् ११४६ को अवसरमा सोमबार सम्पन्न ‘शुभकामना तथा नेपालको ऊर्जा क्षेत्रको विकास र अवस्था विषयक अन्तरक्रिया कार्यक्रम’ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले उक्त विचार व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभयो, “भ्रष्टाचारको कारण सरकारी कारखानाहरू बन्द हुँदै छन् । भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी तिनीहरूलाई कारबाही गर्नु जरुरी छ । भदौ २३–२४ गतेको घटनामा सरकारी सम्पत्तिमा आगजनी हुनु उचित होइन ।”
नेमकिपाले आफ्नो राजनैतिक प्रतिबद्वताअनुसार भक्तपुर नगरपालिकाले इन्जिनियरिङ कलेजहरूसहित ७ वटा कलेज सञ्चालन गरी देशभरका विद्यार्थीलाई विभिन्न विषयमा उच्च शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरिरहेको उल्लेख गर्दै सचिव सुवालले नेमकिपाले पार्टी कार्यकर्ताहरूलाई आर्थिक अनुशासन रहन र अध्ययन गर्न जोड दिइरहेको बताउनुभयो ।
रेमिट्यान्सले देश विकास नहुने स्पष्ट पार्दै उहाँले एमसीसीको पक्षमा रहेको पार्टी र नेतृत्वबाट नेपाल कहिल्यै आत्मनिर्भर नहुने बताउनुभयो ।
नेपालको नदीनालामाथि भारतीय एकाधिकार पुँजीले कब्जा जमाइरहेको र सरकारमा गएका दलहरूले नेपालको प्राकृतिक स्रोतहरू भारतीय विस्तारवादलाई सुम्पिएको उल्लेख गर्दै उहाँले नेपाली काङ्ग्रेस र एमालेले सुगौली सन्धिको पक्षमा मतदान गरी राष्ट्रघात गरेको बताउनुभयो ।
तिब्बतलाई टुक्राउन अमेरिकी साम्राज्यवादले दलाई लामालाई भारतमा पालिरहेको चर्चा गर्दै उहाँले एनजीओ आईएनजीओले नेपालमा समानान्तर बजेट खर्च गरेर देशलाई ध्वस्त बनाइरहेको बताउनुभयो ।
कार्यक्रममा अन्तर्राष्ट्रिय सम्बन्धका विद्यार्थी राजेन्द्र चवालले मासिक १० खर्ब किलोवाट विद्युत् खपत गरेर चीन विश्वमै सबैभन्दा बढी ऊर्जा खपत गर्ने देश बनेको बताउनुभयो । चीनले पेट्रोलियम पदार्थलगायतका ऊर्जाको मागको सम्बन्धमा विश्वभरबाट आपूर्तिका संयन्त्र तथा मार्गहरू तयार गरिरहेको र स्वदेशी सफा ऊर्जा उत्पादनमा समेत उल्लेखनीय उपलब्धिहरू हासिल गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रममा इन्जिनियर सुमित वाला (सदाम) ले नेपालको ऊर्जा विकास र अवस्थाको सम्बन्धमा तथ्य तथ्याङ्कहरू प्रस्तुत गर्दै नेपालले यस क्षेत्रमा बिस्तारै प्रगति गरिरहेको र हाल जलविद्युत् क्षेत्रमा नेपालले छिमेकी देशबाट आयात सँगसँगै निर्यात पनि गरिरहेको बताउनुभयो । नेपालमा विद्युत् खपत सबैभन्दा बढी घरधुरीमा भइरहेको तर औद्योगिक क्षेत्रमा भने यसको खपत बढ्न नसकेकोमा राज्यको भूमिका कमजोर रहेको उहाँले बताउनुभयो ।
सर्कलका अध्यक्ष दिपेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा समाजका सल्लाहकार रूपेश प्रजापति, अध्यक्ष नरेश खत्री र इन्जिनियर उज्ज्वल प्रजापतिले पनि बोल्नुभएको थियो ।