कैलाली, २८ पुस । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा पार्टीको आठौँ अधिवेशनपछिको पहिलो (३७ औँ) केन्द्रीय परिषद्को सन्देशबारे कार्यक्रम छलफल लम्कीमा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पुस १८ र १९ गते सम्पन्न केन्द्रीय परिषद्ले कामदार जनताका प्रतिनिधिले मात्र समाजवादी व्यवस्थाका लागि सङ्घर्ष गर्न सक्छन् भन्ने शिक्षा मिलेको बताउनुभयो । कामदार जनताको मुक्ति समाजवादमा मात्र हुने उल्लेख गर्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा पार्टीले प्रकाशस्तम्भको रूपमा काम गरिरहेको स्पष्ट पार्नुभयो ।
नेपालमा नामधारी कम्युनिस्टले कम्युनिस्टको बदनाम गरेकोले अब यही फागुन २१ मा हुने निर्वाचनमा जनताको घरदैलोमा पुगी निर्वाचनबारे जनतालाई सचेत पार्नुपर्ने विचार व्यक्त गर्दै उहाँले नेपाल मजदुर किसान पार्टीले निर्वाचनलाई जनताको चेतनास्तर नाप्ने ब्यारोमिटरका रूपमा लिने प्रस्ट पार्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं कैलाली संयोजक रमेशकुमार रावलले परिषद्मा भएका विभिन्न निर्णयकाबारे बोल्दै पार्टीको ५२ औँ स्थापना दिवस २०८२ माघ १० गतेको अवसरमा माघ महिनाभरि क्रान्तिकारी नेताहरूको जीवनी अध्ययन गर्ने, संसारका मजदुर र कम्युनिस्ट आन्दोलनबारे अध्ययन अन्तरक्रिया गरी मनाइने बताउनुभयो ।
पार्टी कार्यकर्ताले पार्टी प्रकाशन ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकलगायतका अन्य प्रकाशन निरन्तररूपमा अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले पार्टी परिषद्ले नेपाली जनताद्वारा भेनेजुयलामाथि अमेरिकी आक्रमणको कडा रूपमा निन्दा एवं भत्सर्ना गरेको स्पष्ट पार्नुभयो ।
अब आउने निर्वाचनमा साम्राज्यवादी र भारतीय एकाधिकार पुँजीका पक्षपातीहरूलाई हराउनु देशभक्त नेपालीहरू ठाउँमा आउनुपर्ने बताउनुभयो ।