काठमाडौँ, २६ पुस । नेपाल मजदुर किसान पार्टी, काठमाडौँ जिल्ला समितिको ११ औँ जिल्ला परिषद् बैठक शनिबार सुरु भयो ।
जिल्ला परिषद्को उद्घाटन सत्रमा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले राजनीति दर्शन, सिद्धान्त तथा विचारबाट निर्देशित हुने भन्दै सिद्धान्त नभएको पार्टीले देशको नेतृत्व गर्न सक्दैन भन्नुभयो । राजनीतिक दर्शनकै आधारमा कृषि, शिक्षा, स्वास्थ्यको नीति बन्ने भन्दै उहाँले दर्शन नभएको पार्टीले देशलाई कुनै पनि भड्खालोमा जाक्नसक्ने खतरा रहेको धारणा राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले देशको समस्या समाधान कसरी गर्ने भन्नेबारे केही नबोल्ने तर कुनै व्यक्ति सत्तामा आएपछि जादूको छडीले जस्तै परिवर्तन ल्याउनेजस्तो भ्रम अरू केही हुन नसक्ने विचार राख्नुभयो । स्वतन्त्रताको नाममा जनताको भावनामाथि खेलबाड गर्ने पार्टीहरूले काठमाडौँलाई प्रदूषितमात्र बनाएर छोडेको प्रस्ट पार्नुभयो ।
उहाँले भ्रष्टाचारको अन्त्य र सुशासनको नारा दिएर बनेको सरकारले कुनै परिवर्तनको अनुभूति गराउन नसकेकोमा कुनै आश्चर्य नभएको भन्दै पुँजीवादी बन्दोबस्तले कतै पनि सुशासन नल्याउने तर्क गर्नुभयो । उहाँले वर्तमान सरकारले पनि एडीबी र विश्व बैङ्ककै ऋण थप्ने कामबाहेक केही नगरेको भन्दै देशको अर्थतन्त्र बलियो बनाउन बाटोघाटोभन्दा पनि देशको उत्पादकत्वमा विकास गर्नुपर्ने भनाइ राख्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य सनकमान महर्जनले भेनेजुयलामा अमेरिकी साम्राज्यवादले गरेको आक्रमणको विरोध गर्दै राष्ट्रपति निकोलस मादुरो र प्रथम महिलाको सकुशल फिर्ता गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको कार्की सरकारले भ्रष्टाचारको अन्त्य र कुशासनबारे केही गर्न सकिरहेको छैन । यो पनि पुँजीपति वर्गकै सेवा गर्ने सरकार हो ।”
पार्टीका अर्का केन्द्रीय सदस्य अनुराधा थापामगरले भारतीय एकाधिकार पुँजी, भारतीय विस्तारवादले नेपालमा गरेको नाकाबन्दीको विरोधमा संसद् र सडकमा आवाज उठाउँदा अन्य पार्टीका नेता–कार्यकर्ताले ‘भारतसँग डराउँदैनौ’ भनी सुनाएको स्मरण गर्नुभयो ।
अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले नेमकिपाको सिद्धान्तबाट पोख्त कार्यकर्ताहरू कुनै पनि प्रतिक्रियावादी शक्तिसँग डराउन नपर्ने बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष गुणदास महर्जन र सचिव शैलेश डंगोलले पनि बोल्नुभएको थियो ।
परिषद्मा जिल्ला समिति, नगर समिति र वर्गीय सङ्गठनका प्रतिवेदनहरू प्रस्तुत भएका थिए । परिषद् आइतबार पनि चालु रहनेछ ।