भक्तपुर, २९ पुस । नेपाल क्रान्तिकारी मजदुर सङ्घको पेसागत सङ्गठन भक्तपुर सिकर्मी सङ्घको १३ औँ वार्षिक बृहत् सिकर्मी भेला तथा प्रशिक्षणात्मक कार्यक्रम मङ्गलबार एक समारोहबिच सम्पन्न भयो ।
उक्त कार्यक्रमको समुद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “सरकारले सिकर्मीहरूलाई आवश्यक प्रशिक्षणको व्यवस्था गरी नेपालमा नै फर्निचर उत्पादनमा जोड दिनु जरुरी छ । यसको लागि फर्निचर आयात र काठ निर्यातमा नियन्त्रण गर्नु आवश्यक छ ।”
उहाँले सरकारले युवालाई वैदेशिक रोजगारीमा पठाउने होइन देशभित्र रोजगारीको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउँदै उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी व्यवस्थामा करमुक्त हुने उल्लेख गर्नुभयो ।
उहाँले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा गर्ने राजनीतिलाई जोड दिँदै आएको बताउनुभयो । “पैतीस वर्षयता सरकारमा गएका तथा प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री भएकाहरूको आर्थिक र विदेश मामिला उही रह्यो, फरक भए पनि सरकारहरूले सार्वजनिक संस्थान निजीकरण गरे भने देश र जनतालाई २८ खर्ब रुपैयाँ ऋण बोकाए । ऋण तिर्न ऋण ल्याउने सरकारहरूबाट देश र जनतालाई भड्खालोमा हाल्ने काम भइरहेको छ,” सचिव सुवालले भन्नुभयो ।
उहाँले भक्तपुर किसान आन्दोलन, सफाइ आन्दोलन र विदेशी हस्तक्षेपविरुद्धको आन्दोलनको थलो हो भन्नुभयो । नेमकिपाका अग्रजहरूले अघि बढाउनुभएको किसान आन्दोलनको कारण भक्तपुरका किसानहरूको जीवनमा परिवर्तन आएको हो । यो यथार्थबारे नयाँ पुस्तालाई शिक्षित गर्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरूले देश र जनताको समस्या समयमा समाधान गर्न नसकेको र सम्भावित विध्वंसबारे पूर्वानुमान गर्न नसकेको हुँदा गत भदौ २३ र २४ गतेको सडक प्रदर्शनमा घुसपैठ र आगजनी भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले विध्वंसमा अमेरिकी ज्यावलहरू एनईडी र आईआरआईको संलग्नता रहेको पनि सार्वजनिक भएको उल्लेख गर्नुभयो ।
जनता स्वदेशमै बसेर आफ्नो जीवन निर्वाह गर्न तयार भए पनि बिचौलियाहरूको कमिसनको चक्करमा शासकहरू फसेको कारण युवाहरू बाध्य भएर विदेश पलायन भइरहेको उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो, “देशका सरकारी संस्था तथा उद्योगहरू निजीकरण गरेर, विदेशी सामान आयात गरेर देशको अर्थतन्त्र सुदृढ हुनेछैन ।”
देश र जनताको निःस्वार्थ सेवा गर्नु नै पार्टीको मूल उद्देश्य रहेको उल्लेख गर्दै उहाँले जनताको सैद्धान्तिक, वैचारिक र सांस्कृतिक स्तर उठाई शिक्षित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले मोहियानी हक आन्दोलन, भरपाई आन्दोलन† साँढे धपाउने आन्दोलनको स्मरण गराउनुभयो ।
बेलायतको पुँजीवादी क्रान्ति, फ्रान्सेली क्रान्ति र अमेरिकी स्वतन्त्रता आन्दोलनबारे चर्चा गर्दै उहाँले देश र जनताको सेवा गर्ने भावना राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले ग्रिनल्यान्ड, इरान, कोलम्बिया, मेक्सिको, क्युवाजस्ता देशमा आक्रमण गर्ने धम्की र अमेरिकी नीति र कानुन पालना हुने एमसीसीको पनि नेमकिपाले विरोध गर्दै आएको उल्लेख गर्नुभयो ।
विद्यार्थीले अध्ययन र अनुसन्धान गर्ने विश्वविद्यालयमा तालाबन्दी भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले शासकहरूले समयमै जनताको समस्या सम्बोधन नगरेको हुँदा जेन–जी आन्दोलन भएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले आफ्नो पेसा र व्यवसाय गर्नुको साथै समाज र देशको सेवा गर्नेतर्फ चासो राख्नुपर्ने बताउनुभयो ।
पुरानो सीप र कलालाई निरन्तरता दिई प्रविधिको क्षेत्रमा पनि अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सरकार र दलालहरूको गलत नीति र कार्यले गर्दा सरकार भारतसामु झुक्नु परेको बताउनुभयो ।
देशको राम्रो काठ सस्तोमा विदेशमा बेचेर महँगो विदेशी काठ निर्यात गर्न नहुनेमा जोड दिँदै उहाँले निजीकरण र उदारीकरणको नाउँमा नेपालमा विदेशी चलखेल बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
भारतीय एकाधिकार पुँजीविरुद्ध सङ्घर्ष जारी राख्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देशको काठ सस्तोमा उपलब्ध भए नेपाल हस्तकला या काठसम्बन्धी काममा आत्मनिर्भर हुने बताउनुभयो ।
विदेशी हस्तक्षेपले नेपालको स्वतन्त्रतामा बाधा पुगेको उल्लेख गर्दै उहाँले आर्थिक अपराधी र सहकारी ठगहरू राजनीतिको खोल ओढेर सरकार चलाउन लागिरहेकोतर्फ जनता सचेत हुनुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालले विदेशी सामान भित्रिएको कारण स्वदेशी सामान बिक्रीमा समस्या भएको उल्लेख गर्दै पेसागत सङ्गठनभित्र पसेर हक हितको निम्ति सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कर लिएपछि कर तिरेको आधारमा सरकारले सेवा सुविधा दिनुपर्ने उल्लेख गर्दै उहाँले स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
सही सिद्धान्त र दर्शनको आधारमा राजनीति गर्ने दलमा आबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कामदार जनता सचेत र सङ्गठित नभइकन परिवर्तन सम्भव छैन भन्नुभयो ।
नेपाल डकर्मी सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष विष्णुराम दुमरुले सिकर्मी सङ्घले विगतमा गरेको योगदान भुल्न नहुने उल्लेख गर्दै आयातीत सामानले हाम्रो उत्पादित सामान विस्थापित भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले पेसासँगै सङ्गठनमा पनि लाग्नुपर्ने र सङ्गठनमा नलागेका सन्तानहरू कुलतमा लागेको बताउनुभयो ।
उद्योग तथा वाणिज्य सङ्घ भक्तपुरका अध्यक्ष रामप्रसाद कुस्माले सांस्कृतिक सहर भक्तपुरलाई विश्वमा चिनाउने काममा सिकर्मीहरूको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै पुरानो शैलीका सामान उत्पादन सँगै नयाँ प्रविधिको उपयोग गरेर प्रतिस्पर्धामा जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ भक्तपुरका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले अदक्षलाई दक्ष बनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा उत्पादन प्रवद्र्धन गर्नेतर्फ गो लोकल अभियान सञ्चालन गरेको बताउनुभयो ।
भक्तपुर फर्निचर तथा फिनिसिङ सङ्घ भक्तपुरका अध्यक्ष राकेश श्रेष्ठले सिकर्मीहरूको समस्या समाधान गर्न सङ्घलाई बलियो बनाउनुपर्ने र सङ्घमा कोष बढाएर आइपर्ने सङ्कट समाधान गर्न समर्थ बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर सिकर्मी सङ्घका सल्लाहकार विष्णुभक्त कुसीले प्रगतिशील कर लगाउनुपर्ने आवश्यकता औँल्याउँदै करको दायरा बढाउने तर कर तिरेबापत कुनै सेवा सुविधा नदिने सरकारको कार्यशैली ठीक नभएको बताउनुभयो ।
आ–आफ्नो पेसागत समस्या समाधान गर्न एकताबिना सम्भव नहुने उल्लेख गर्दै उहाँले पेसाको हकहितसँगै देश र जनताको निःस्वार्थ सेवा गर्नुपर्छ भन्ने भावना पनि हुनुपर्छ भन्नुभयो ।
सिकर्मी सङ्घका अध्यक्ष एवं कार्यक्रमका सभापति विक्रम ढुकुछुले फर्निचर र उद्योगको वर्गीकरण नगरी भ्याट र कर लगाउँदा फर्निचर सञ्चालनमा समस्या भएको उल्लेख गर्दै कर तिर्ने वातावरणमा सहज बनाउनुपर्छ भन्नुभयो ।
उत्पादित सामानको सही बजार नहुँदा काम गर्न सहज वातावरण नभएकोमा चिन्ता व्यक्त गर्दै उहाँले अस्वस्थ प्रतिस्पर्धाभन्दा गुणस्तरीय सामान उत्पादनमा लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सङ्घका सचिव पुण्यराम न्हुछेले सङ्घको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भन्ने कोषाध्यक्ष सुनिल राजचलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा सङ्घका उपाध्यक्ष रामसुन्दर सुवालले स्वागत मन्तव्य
राख्दै समस्याको जड खोजेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।