काठमाडौँ, २७ पुस । नेपाल मजदुर किसान पार्टीको काठमाडौँ जिल्ला परिषद्को बैठकमा आइतबार सम्पन्न भयो ।
पार्टी सचिव प्रेम सुवालले परिषद्मा भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीको एउटै लक्ष्य देश र जनताको निःस्वार्थ सेवा हो । अहिलेको पुँजीवादी व्यवस्थाको समाजमा शान्ति कायम हुनेछैन । संसारका ७ अर्ब मानिसमध्ये ६० हजारसँग अत्यधिक स्रोत साधन कब्जामा रहेको छ । नेपालमा पनि मुठीभरका मानिस अर्ब डलरपतिमा गनिएका छन् । २० प्रतिशत नेपाली पेटभरि खान नपुग्ने अवस्थामा छन् । उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण हुने समाजवादी व्यवस्थामा मात्र मानव अधिकारको पूर्ण बहाली हुनेछ ।”
सचिव सुवालले शासक दलहरूले देश र जनताको निःस्वार्थ सेवा नगरेको हुँदा नेपाली समाजमा हुने खानेभन्दा हुँदा खानेहरूको अत्यधिक सङ्कटमा पुगेको उल्लेख गर्दै निर्वाचनमा सिद्धान्तहीन मोर्चा र सरकारमा सिद्धान्तहीन गठबन्धन गर्ने पार्टीहरूबाट देश र जनतालाई थप दुःख हुने स्पष्ट पार्नुभयो ।
संरा अमेरिकी सञ्चारमाध्यममा नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी र इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटजस्ता संस्थाहरूले डलर पठाएर संसारका कतिपय देशमा विध्वंश मच्चाउने र सरकार उल्टाउने काम गरिरहेको सार्वजनिक भएकोमा संसारका न्यायप्रेमी र स्वतन्त्रताप्रेमी जनता सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
“संरा अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमा भइरहेको सडक प्रदर्शनमाथि त्यहाँको सरकारले दमन भए इरानमा संरा अमेरिकी आक्रमण हुने बताए । यसको जवाफमा इरानले इजरायल र अन्य देशमा रहेका संरा अमेरिकी सैन्य अखडामा आक्रमण गर्ने स्पष्ट पा¥यो । तर, संरा अमेरिकी सहरमा भएको जनप्रदर्शनलाई भने ट्रम्प प्रशासनले दमन गर्दै छ ।”, सचिव सुवालले थप्नुभयो ।
“ट्रम्प प्रशासनले डेनमार्कको ग्रीनल्यान्ड कब्जा गर्न बल प्रयोग गर्ने बताएपछि डेनमार्कले त्यसो भए उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) र दोस्रो विश्व युद्धपछिको सुरक्षा संरचनासमेत अन्त्य हुने चेतावनी दियो”, सचिव सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “ट्रम्प प्रशासनले भेनेजुयला, कोलोम्बिया, मेक्सिकोलगायत देशमा आक्रमणको धम्की दिनुको अर्थ ती देशमा रहेका तेल, ग्यास र बहुमूल्य धातु कब्जा गर्न हो । ग्रीनल्यान्डमा पनि बहुमूल्य धातु रहेको सार्वजनिक भएको छ ।”
देश र जनताको निःस्वार्थ सेवा गर्ने लक्ष्य नभएका नयाँ वा पुरानो राजनीतिक पार्टी र तिनका नेता र कार्यकर्ताको औचित्य हुनेछैन”, सचिव सुवालले स्पष्ट पार्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले पुँजीवादी दलहरूले नयाँ नयाँ ढङ्गले प्रपञ्च रच्दै आइरहेकाले कार्यकर्ताहरू सचेत हुनु जरूरी छ भन्नुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला अध्यक्ष एवं परिषद् अध्यक्ष नारायण महर्जनले विगतका घटनाबाट शिक्षा लिएर अब नयाँ ढङ्गले सुझबुझका साथ सक्रिय हुनुपर्ने बताउँदै काठमाडौँका ११ वटै नगरमा जनसेवाका गतिविधिलाई प्रभावकारी ढङ्गले अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय सदस्य रमेश वैद्यले सरकार परिवर्तन भए पनि पुँजीवादी व्यवस्थामा कामदार जनताको जीवनस्तर परिवर्तन नहुने भएकोले समाजवादी व्यवस्था स्थापनाको लागि लाग्नु जरूरी छ भन्नुभयो ।
परिषद्मा स्थानीय पार्टी समिति र जनवर्गीय सङ्गठनहरूको प्रतिवेदन पेस भएको थियो ।
दुई दिन बसेको परिषद्ले माघ १० गते पार्टीको ५२ औँ स्थापना दिवस काठमाडौँका विभिन्न नगरहरूमा विविध कार्यक्रम गरी माघ महिनाभरि मनाउने, श्रमिक/मजदुर/सहिद र न्हुज पत्रिकाको अन्तरक्रिया र अध्ययन गोष्ठी गर्ने निर्णय गरेको छ ।