भक्तपुर, १७ फागुन । प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा भक्तपुर क्षेत्र नं. १ अन्तर्गत सरस्वती खेलमा नेपाल मजदुर किसान पार्टीको चुनावी जनसभा सम्पन्न भएको छ ।
सभामा नेमकिपाका केन्द्रीय सचिव एवम् भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले वर्तमान राजनीतिक व्यवस्थामा देखिएको भ्रष्टाचार, आर्थिक परनिर्भरता र नीतिगत अस्थिरताबाट मुक्ति पाउनका लागि देशभक्त जनताले सही उम्मेदवारको चिह्नमा छाप लगाएर नयाँ युगको सुरुवातको शङ्खघोष गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रजातन्त्रलाई जिताउन र नयाँ पुस्ताले पुनः क्रान्ति गर्नुपर्ने अवस्था अन्त्य गर्न राखिएको भोट देश हितको लागि हुनेछ । राष्ट्रघात विरुद्धको भोट हुनेछ ।”
उहाँले जनताको मत र भावनालाई पालना गर्ने प्रतिबद्धता जनाउँदै शासक दलहरूको नीति र कार्यशैलीले आम जनता आजित भइरहेको बताउनुभयो । ३५ वर्षको बहुदलीय अभ्यासले जनताको अवस्था सुधार्न नसकेको उहाँको भनाइ छ । मतदातालाई मतदानअघि दल र उम्मेदवारको विगतको भूमिकाको समीक्षा गर्न आग्रह गर्दै उहाँले देशलाई नयाँ राजनीतिक दिशामा लैजान नेमकिपालाई विकल्पको रूपमा हेर्नुपर्ने बताउनुभयो ।
उहाँले प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र मन्त्री बनेकाहरूलाई उनीहरूको कार्यकालबारे जवाफदेही बनाउनुपर्ने बताउँदै घोषणापत्र र व्यवहारबिचको दूरीबारे जनतालाई सचेत रहन अपिल गर्नुभयो । “मतदान भनेको कागजमा छाप मात्र होइन, देशको भविष्यमा निर्णय हो, मत माग्न आएका उम्मेदवारसँग देशघातका विषयमा प्रश्न गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।
उहाँले हतियार निर्यातलाई ‘युद्ध निर्यात’ सँग तुलना गर्दै ठुला शक्तिहरूको हस्तक्षेपले साना राष्ट्रहरू अस्थिर हुने धारणा राख्नुभयो । अमेरिकी ट्रम्प प्रशासनले विभिन्न देशमा आक्रमण गरी मानवताविरोधी गतिविधि गरेको बताउँदै उहाँले अन्तर्राष्ट्रिय शक्ति सन्तुलन अस्थिर हुँदा नेपालको जस्तो मुलुकमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्नुभयो । “घर वरपरको वातावरण राम्रो नभए घरभित्र शान्ति हुँदैन, त्यसैगरी देशको अवस्था सुधार्न अन्तर्राष्ट्रिय परिस्थिति पनि न्यायपूर्ण हुनुपर्छ ।” उहाँले भन्नुभयो ।
एमसीसीलाई देशघाती सम्झौता भन्दै उहाँले विदेशी पँुजीको प्रभावलाई नवउपनिवेशवादसँग जोड्दै आन्तरिक विश्वासघात र बाह्य दबाबको गठजोडले राष्ट्र कमजोर हुन्छ भन्नुभयो ।
उहाँले कागज, कपास, धागो, इँट्टा, रबर र कपडा उद्योगजस्ता आधारभूत उत्पादन क्षेत्र निजीकरण गरेर समाप्त पारिएको चर्चा गर्नुभयो । ठुला पँुजीले साना पँुजीलाई ध्वस्त बनाउने प्रवृत्ति बढेको बताउँदै उहाँले शासक दलहरूको आर्थिक नीतिले मजदुर–किसानको हित नगरेको जनाउनुभयो । “शोषणलाई कानुन बनाएर वैधता दिने काम भइरहेको छ, नेमकिपा शोषणमुक्त समाज निर्माणको लागि सङ्घर्षरत छ ।” उहाँले भन्नुभयो ।
उहाँले संसद्लाई जीवन्त प्राज्ञिक थलो बनाउनुपर्नेमा शासक दलहरूले भत्ता पचाउने र सुविधा खोज्ने केन्द्र बनाएको बताउनुभयो । संसद् सदस्य हुनु भनेको के रातो पासपोर्ट बेच्ने काम हो ? उहाँले नेमकिपाले संसदमा भन्सार सुविधा नलिएको, सांसद पेन्सनको विरोध गरेको र नागरिकता विधेयकको विरोध गर्दै आएको उल्लेख गर्नुभयो । बहुदल आएपछि नेपालका नदीनालालाई भारतसँग साझा भन्दै सुम्पिएको जानकारी दिँदै उहाँले नेपाली लगानीमै जलविद्युत् र सिँचाइ आयोजना विकास गर्नुपर्ने धारणा राख्नुभयो । “३५ वर्ष हेर्याैं, शासक दलहरूले जनहितका पक्षमा केही गरेनन्, अबको विकल्प नेमकिपा हो, नेमकिपाको विकल्प अरू दल हुनसक्दैन ।” उहाँले भन्नुभयो ।
सभामा वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले आफूलाई कम्युनिस्ट भन्ने दलहरू सरकारमा गएपछि किसान–मजदुरको हितमा काम नगरेको बताउनुभयो । “किसान रोइरहेका छन्, किसान रोएको देश कसरी समृद्ध हुन्छ ?” उहाँले भन्नुभयो ।
समयमै मल, जल र बीउबिजनको व्यवस्था गर्न शासक दल असफल भएको बताउँदै उहाँले देशको अस्तित्व जोगाउन, सीमा रक्षा गर्न र जनताको हित सुनिश्चित गर्न नेमकिपालाई जिताउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका सभापति न्हुच्छेभक्त फोँजुले कृषिलाई आत्मनिर्भर बनाउन ‘जसको जोत उसको पोत’ कायम गर्नुपर्ने, मल कारखाना स्थापना गर्नुपर्ने, शिशुस्याहार केन्द्र र आदर निकेतनको व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याउनुभाये । चाँगुनारायण नगरपालिकामा नेमकिपाले दिएका जनमुखी सुझाव कार्यान्वयन नभएको बताउँदै उहाँले एमाले र काङ्ग्रेस नेतृत्वका जनप्रतिनिधिहरूले भ्रष्टाचार र कमिसन प्रवृत्तिलाई बढावा दिएको बताउनुभयो ।
स्थानीय गौरीमानसिं थापाले सरस्वती खेलस्थित नैन डाँडा संरक्षणमा नेमकिपाले सहयोग गरेको उल्लेख गर्दै सार्वजनिक जग्गा संरक्षणमा पार्टी प्रतिबद्ध रहेको बताउनुभयो । उद्घोषक श्याम अवालले सञ्चालन गरेको कार्यक्रममा नेमकिपा कोशी प्रदेशका राजाराम बासी र राजकुमार लघुको टोलीले चुनावी गीत प्रस्तुत गरेको थियो ।