
काठमाडौँ, २० फागुन । नेपाल मजदुर किसान पार्टीले अमेरिकी ट्रम्प प्रशासन र इजरायली जातिवादी सरकारले एक सार्वभौम देश इरानमाथि गरेको आक्रमणको विरोधमा बुधबार वक्तव्य प्रकाशित गरेको छ । वक्तव्यको पूर्ण पाठ यहाँ प्रकाशित गरिएको छ –
मध्यपूर्वको एक स्वतन्त्र र सार्वभौम देश इरानको राजधानी तेहरानमा गत २८ फेब्रुअरी (१६ फागुन) शनिबारका दिन स्थानीय समयअनुसार बिहान ९ः३० बजे ट्रम्प प्रशासन र इजरायली प्रजातन्त्रविरोधी सरकारले संयुक्तरूपमा आक्रमण गरी इरानी सर्वोच्च नेता आयतोल्लाह खामेनीलगायतका इरानी नेताहरूको हत्या गरे । इरानको मिनावस्थित एक प्राथमिक विद्यालयमा बम प्रहार गरी १ सय ६५ भन्दा बढी छात्राहरूलाई एक चिहान बनायो । इरानले आत्मरक्षाका निम्ति मध्यपूर्वका देशका अमेरिकी सैन्य अखडाहरूमा जवाफी हमला ग¥यो । ट्रम्प प्रशासनको कारण मध्यपूर्व र विश्वमा फेरि युद्ध र आतङ्कको कालो बादल मडारिँदै छ ।
विगत ४५ वर्षदेखि अमेरिकी प्रशासन र पश्चिमाहरूको अमानवीय आर्थिक नाकाबन्दी एवम् चर्को दबाब व्यहोरिरहेको एक स्वतन्त्र र सार्वभौम देश इरानमाथि भएको यो निर्मम हमला अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन हो । अमेरिकी साम्राज्यवाद र इजरायली जातिवादी सरकारले इरानविरुद्ध थालेको नृशंस हमलाको नेमकिपा विरोध एवम् भत्र्सना गर्दछ ।
स–साना स्वतन्त्र तथा सार्वभौम देशहरूमाथि अमेरिकी साम्राज्यवादबाट भइरहेको थिचोमिचो, दबाब, धम्की र हस्तक्षेपको अन्त्य भएबाट मात्र विश्वशान्ति सम्भव हुनेमा नेमकिपा पुनः जोड दिन्छ । युद्धले अर्को युद्ध जन्माउने र अन्त्यहीन युद्धतर्पm विश्वलाई धकेल्ने यथार्थतर्पm नेमकिपा सबैको ध्यानाकर्षण गराउँदछ ।
साम्राज्यवादी हमलाको संसारभर भइरहेको विरोध र विश्वशान्तिको पक्षमा भइरहेको सङ्घर्षप्रति ऐक्यबद्धता र समर्थन जाहेर गर्दै इरानविरुद्ध अमेरिकी साम्राज्यवाद र इजरायली प्रजातन्त्रविरोधी जातिवादी सरकारको बर्बरतापूर्ण हमला तत्काल रोकी वार्ता वा अन्य शान्तिपूर्ण उपायबाट समाधान निकाल्न नेमकिपा सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछ ।
सन् २०२५ को जुन महिनामा पनि इरानले आणविक बम बनाएको आरोप लगाउँदै इजरायलले १२ दिनसम्म इरानका आणविक केन्द्रलगायतका विभिन्न स्थानहरूमा हमला गरेको थियो । इरानी नेतृत्वले भने धैर्य एवम् संयम अपनाउँदै आयो । इरानले आफ्नो आणविक परियोजना शान्तिपूर्ण ऊर्जा उत्पादनका लागि भएको स्पष्ट गर्दै संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आणविक ऊर्जा केन्द्रलाई आवधिक निरीक्षण समेत गरायो । इरानले सन् २०१५ मा अमेरिकासहित अन्य पाँच देशहरू (फ्रान्स, जर्मनी, बेलायत, चीन र रुससहित) सम्मिलित संयुक्त बृहत कार्य योजनामा हस्ताक्षर गरेको थियो । तर, ट्रम्प सरकारले सन् २०१८ मा एकपक्षीय रूपमा त्यस सहमतिबाट हात झिकेर इरानमाथि नाकाबन्दी झन् कडा बनायो । यो आक्रमणले विश्वमा विध्वंस मच्चाउने अमेरिकी प्रशासन र इजरायली जातिवादी सरकारको बदनियत रहेको प्रस्ट पार्छ । मध्यपूर्वलाई आफ्नो तखतमा राख्ने र विशाल तेल भण्डार कब्जा गर्ने नीतिअन्तर्गत नै अमेरिकी प्रशासनले युद्धउन्माद प्रदर्शन गरिरहेको हो ।
आफ्नो तखतमा नबस्ने देशहरूमा सत्ता परिवर्तन गराउन अनेक छद्मयुद्ध, अन्तरध्वंश र ‘रङ्गीन क्रान्ति’ लाई मलजल गर्दै आएको अमेरिकी प्रशासनले सिङ्गो मध्यपूर्वमा मात्र होइन सारा विश्वलाई अशान्त र अस्तव्यस्त पार्दै छ । मध्यपूर्वमा युद्ध भड्काएर अमेरिकी साम्राज्यवाद विश्वब्यापी ऊर्जा सङ्कट एवम् मानवीय सङ्कट निम्त्याउँदै छ । यो कदम निःसन्देह एक ध्रुवीय विश्व लम्ब्याउने अमेरिकी प्रशासनको स्वार्थबाट प्रेरित छ । बेलायती साम्राज्यवाद र हिटलरको फासिवादको पतनबाट पाठ सिक्न ढिलाइ गर्नु स्वयम् संरा अमेरिकाका निम्ति आत्मघाती हुने निश्चित छ ।