कैलाली, ५ भदौ । नेपाल मजदुर किसान पार्टी कैलाली जिल्ला समितिको आयोजनामा पार्टी प्रकाशनबारे मङ्गलबार अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाला मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले क्रान्तिकारी नेता र नेतृहरू आ–आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न वा निजी सम्पत्ति कमाउने काममा लागेका थिएनन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “एङ्गेल्सले आफ्ना बुबाको देहावसानपछि सबै उद्योगधन्दा बेचेर क्रान्तिको सेवामा र मजदुरहरूको सङ्गठनमा लाग्नुभयो । क्युवाका फिडेल क्यास्ट्रोले आफ्नो सम्पत्ति बेचेर हतियार खरिद गरी क्रान्तिको सेवा गर्नुभएको थियो ।”
खुला सीमामा नेपालको भूमि अतिक्रण गर्दै आएको भारतीय विस्तारवादको कारण नेपाल–भारत सम्बन्ध मैत्रीपूर्ण बनाउन अवरोध भएको उल्लेख गर्दै सचिव सुवालले अफ्रिकी दासहरूको रगत पसिनाले युरोप र अमेरिका सम्पन्न भयो भने नेपाललगायतका युवाहरूको रगत पसिनाले खाडी मुलुकहरू सम्पन्न भइरहेको बताउनुभयो ।
२०६३ साल यता जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने विधेयकको समर्थन गर्ने शासक पार्टीहरू र राष्ट्रपति रामचन्द्र पौडेलको देशभक्तिमा प्रश्न उठेको चर्चा गर्दै उहाँले संरा अमेरिका, बेलायत, भारतको चुनावमा जस्तै नेपालको संसद्मा आर्थिक अपराधीहरू निर्वाचित हुने सङ्ख्या बढिरहेको बताउनुभयो ।
उहाँले शासक पार्टीहरूले कार्यकर्तालाई राज्यको नेतृत्वमा औद्योगिक उत्पादन गर्न प्रशिक्षित नगरी पुँजीवादको विकास गर्न भनी खराब ठेकेदारको पछि लाग्ने र उपभोक्ता समितिमा बसेर कुम्ल्याउने काम गराउँदा नेपाली भुक्तानी शरणार्थी, ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, सुन तस्करीलगायत भ्रष्टाचारको घटना बढेको हो भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “सिंहदरबारमा पालैपालो सरकारको नेतृत्व गर्न पुगेका शासक दलका नेताहरूको कारण नेपाली जनताले दुःख पाएका छन् ।”
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टी पुँजीवादी सरकारमा जाँदैन किनभने पुँजीवादी सरकारले कामदार वर्गको हित गर्दैन, पुँजीवादी सरकारको भागबन्डा खाएका कम्युनिस्ट नामका पार्टीहरू यथार्थमा पुँजीवादी पार्टी अर्थात् भाइ काङ्ग्रेस हुन् ।”
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाई र जिल्ला अध्यक्ष रमेशकुमार रावलले पनि बोल्नुभएको थियो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सदस्य लक्ष्मी पुनले क्रान्तिकारी नेतृ, नेपाल क्रान्तिकारी शिक्षक सङ्घका जङ्गबहादुर तारामीले समाजवादी आचरण र गुप्तबहादुर शाहीले विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरूबारे जानकारी दिनुभयो ।
कार्यक्रममा कैलाली पार्टी जिल्ला समितिका सदस्यहरू गजबहादुर दर्लामीले जनताको साहित्य र साहित्यकारबारे, भक्तिप्रसाद जैसीले समाज विकासको झलकबारे, तारा तिरुवाले राजनैतिक कार्यकर्ता बन्ने भाइबहिनीहरूलाई चिट्ठीबारे र ज्योति बडुवालले माक्र्स एङ्गेल्सका जीवनीबारे प्रकाश पार्नुभएको थियो ।