विदेशीसँग पैसा लिने दलले देश र जनताको सेवा नगर्ने


बाँके, ७ भदौ । नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा बिहीबार पार्टी प्रकाशनबारे अध्ययन गोष्ठी सम्पन्न भयो ।
गोष्ठीमा नेमकिपाका सचिव एवं सांसद प्रेम सुवालले भन्नुभयो, “बेलायती र अमेरिकी साम्राज्यवादले सन् १८३० यता चिनियाँ जनतालाई अफिमको लतमा पारेर त्यहाँको सुन–चाँदी ओसारेका थिए । सन् १८४९ मा चिनियाँ जनताले आफ्नो देशमा साम्राज्यवादलाई पस्न नदिने आन्दोलन गरे† चीनको सामन्ती सरकार साम्राज्यवादको अगाडि झुक्यो । तर, जनताको सङ्घर्ष चालु रह्यो ।”
उहाँले भन्नुभयो, “भारतीय विस्तारवाद र एकाधिकार पुँजीले नेपालका शासक दलका नेताहरूलाई पालैपालो प्रधानमन्त्री र मन्त्री बनाएर नेपालको नदीनाला कब्जा गर्दै छन् । प्रम पुष्पकमल दाहालले गत असार १८ गते आफूलाई भारतीय शासकवर्गले प्रधानमन्त्री बनाएको सार्वजनिक रूपमा स्वीकार गरे ।”
सरकारमा गएर शिक्षा–स्वास्थ्य निःशुल्क नगर्ने, युवालाई स्वदेशमा रोजगारी नदिने, राज्यको स्वामित्वमा उत्पादन र वितरणको बन्दोबस्त नगर्ने, देशको सीमा सुरक्षा नगर्ने पार्टी र तिनका नेताहरू कम्युनिस्ट र देशभक्त हुनै नसक्ने तर्क सचिव सुवालले व्यक्त गर्नुभयो ।
उहाँले स्पष्ट पार्दै भन्नुभयो, “नेपाली काङ्ग्रेस भारतीय पुँजीको सेवा गर्ने पार्टी हो । एमाले र माओवादीले महाकाली सन्धि, एमसीसी सम्झौता र जन्मको आधारमा नेपाली नागरिकता लिएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने नागरिकता विधेयकलाई समर्थन गरेको हुँदा ती दुवै कम्युनिस्ट पार्टी होइनन्, बरू भाइ काङ्ग्रेस हुन् ।”
नेपाल मजदुर किसान पार्टी स्वयम् एउटा विश्वविद्यालय भएको र यसका जनवर्गीय तथा पेसागत सङ्गठनहरू कलेजजस्तै भएको धारणा राख्दै सचिव सुवालले पार्टी कार्यकर्ताहरूले पार्टी प्रकाशनहरू अध्ययन गरी नियमितरूपमा अन्तरक्रिया तथा विचार गोष्ठी सञ्चालन गरी राजनीतिक र सांस्कृतिक स्तर माथि उठाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “विदेशीसँग पैसा लिएर निर्वाचन जित्ने र सरकारमा जाने पार्टीहरूले देश र जनताको सेवा गर्नेछैनन् । नेपाली जनताको दुःखको कारक पालैपालो सिंहदरबार कब्जा गरेका शासक दलका नेताहरू नै हुन् ।”
कार्यक्रममा नेमकिपा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर बासी, नेमकिपा बाँके जिल्ला अध्यक्ष बखत थापा, मोहनलाल थापा, शेरबहादुर थापा, खड्गबहादुर थापा, भावना थापा, सफल थापा, दीपा बुढा, मोहनलाल थापा, वीरबहादुर चौधरी, गौरीकान्त आचार्य, अन्जिरबहादुर शाही, नवीनकुमार शाही, शेरबहादुर विक, प्रकाश शाहलगायतले आफूले अध्ययन गरेका पार्टी प्रकाशनकोे अध्ययनको सार प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा ‘समाज विकासको झलक’, ‘समाजवाद र सान्दर्भिक विषयवस्तु’, ‘चीनका प्रसिद्ध विद्रोहहरू’ लगायत पुस्तकको अन्तरक्रिया भएको थियो ।

पार्टी गतिविधिहरु
समाचार