‘नेमकिपा जनताको भावना बुझेर मन जितेर अघि बढ्दै छ’


भक्तपुर, ९ भदौ । पञ्चायी राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्ड (२०४५ भदौ ९) को विरोध तथा भत्र्सना कार्यक्रम नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “भक्तपुर काण्डमा राजनीतिक कार्यकर्तासँगै निर्दोष मानिसहरूले निकै दुःख पाए । नेपाल भाषासमेत नजानेका सरल र सोझा किसानहरूले सास्ती खेप्नु प¥यो । गर्दै नगरेको अपराध कबुल गराउन राज्य सत्ताले निकै दबाब दिएको थियो । पञ्चायती सरकार हामीमाथि धेरैभन्दा धेरै सजाय होस् भनेर गलत एवं झूटा मुद्दा प्रचार गर्दै हिँडे । तर, अपराधसँग सम्बन्धित कुरामा नेमकिपा कहिल्यै मुछिएन । जानेर कहिल्यै अपराध गर्नुहुँदैन भन्ने विषयमा कार्यकर्ताहरू सचेत थिए । देश र जनताको निःस्वार्थ सेवा नै हाम्रो उद्देश्य थियो ।”
उहाँले थप्नुभयो, “पार्टी ठूलो बनाउन पार्टीप्रति विश्वासघात गर्ने अपराधीहरूलाई पार्टीमा हुलेनौँ । पार्टी सङ्लो होस्, राम्रो होस्, सानो भएर केही फरक पर्दैन भन्ने भावनाले हामी लाग्यौँ । नेमकिपाले भाजेभतेर र पैसा खर्च गरेर चुनाव लडेन । जनतालाई धोखा दिएर पैसा दिएर चुनाव लडेन । जनताको भावना बुझेर मन जितेर अगाडि बढ्दै छ ।”
अध्यक्ष बिजुक्छेँले जोड दिनुभयो, “चुनावमा हारजित हुन्छ तर, इमान र नैतिकता छाड्नु हुँदैन । शासक दलहरू चुनावमा बढी पैसा खर्च गर्छन् । नेमकिपा चुनावमा पैसा खर्च गर्दैन । हामीले जनतालाई धोखा दिएनौँ । पैसामा जनताको मत किनेनौँ । जनताको आँखा दूरबिनसरह हुन्छ । जनतामाथि छल गर्नु अपराध हो ।”
अध्यक्ष नारायणमान बिजुक्छेँले २०१९ सालको निर्वाचनपछि नै पार्टी निर्वाचित ठाउँबाट जनताको सेवाको निम्ति शैक्षिक, सांस्कृतिक परिवर्तनमा जोड दिएको कुरा उल्लेख गर्नुभयो ।
उहाँले मार्गनिर्देश गर्नुभयो, “समाजवादी व्यवस्थामा जन्मदेखि मृत्युसम्म अरूलाई गुहार्न नपर्ने गरी राज्यले नै बन्दोबस्त गर्छ । त्यसकारण, नगरपालिकाले प्रसूतिगृहदेखि बाल उद्यान र ज्येष्ठ नागरिकको लागि आदर निकेतनको बन्दोबस्त गर्नुपर्छ । यसले कामदार महिलालाई अझ सहयोग पुग्नेछ । समाज अगाडि बढ्नेछ ।”
भक्तपुर काण्डको चर्चा गर्दै उहाँले भन्नुभयो, “पञ्चायती राज्यले नै योजनाबद्ध तरिकाले ह्योजुलाई मारेको हो । ह्योजूलाई भिडमै छोड्नु, अस्पतालमा औषधि उपचार नगराउनु, खानासमेत नदिनुले नै पञ्चहरूको कुत्सित षड्यन्त्र बुझ्न सकिन्छ ।”
उहाँले भन्नुभयो, “भक्तपुर काण्डमा उठेका किसान–मजदुरहरूको सङ्घर्षले पञ्चायती व्यवस्थाको अन्त्य भई प्रजातन्त्रको पुनःस्थापना भयो । त्यसकारण, कहिलेकाहीँ सहनुपर्ने हुन्छ । सङ्घर्षबाट विचलित हुनुहुँदैन । आखिरमा सत्यकै विजय हुन्छ ।”
“नेमकिपाले २०१९सालभन्दा पहिले किसान कार्यकर्ताहरूलाई साक्षरता कक्षा सुरू गरेको हो । त्यसको केही समयपछि महिलाहरूको प्रौढ कक्षा सुरू भयो । कक्षाले सङ्कटको समयमा महिला कार्यकर्तालाई सङ्गठित हुन सघायो । भक्तपुर काण्डको समयमा महिलाहरूको सङ्घर्ष निकै प्रशंसनीय छ । आज पनि त्यस्तै भावनासाथ अघि बढौँ”, उहाँले जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो भोगाइ र जेलभित्रका गतिविधिलाई मार्मिक ढङ्गले सुनाउनुभयो ।
उहाँले बताउनुभयो, “त्यतिबेला पञ्चायती व्यवस्थाविरोधी सङ्घर्षको विकल्प छैन । पञ्चायती व्यवस्थाको विकल्प प्रजातन्त्र नै हो भन्ने भावनासहित लडेका थियौँ ।”
शासन सत्तामा बसेका शासकहरूले सत्ता जोगाउनको निम्ति जति पनि निर्मम बन्न सक्ने सत्य भक्तपुर काण्डको समयमा अनुभव भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पञ्चहरूले आफ्नो शासन टिकाउन एक जना व्यक्तिलाई बलिको बोका बनाएका थिए ।”
उहाँले थप्नुभयो, “राम्रो काम गर्नेहरू सामन्त र पुँजीपतिवर्गको सधैँ शत्रु बन्छन् । जनतालाई राजनीतिकरूपले सचेत पार्नेहरू उनीहरूका निम्ति अपराधी हुन्छन् भन्ने कुरा भक्तपुर काण्डको घटनाले देखायो ।”
उहाँले जोड दिनुभयो, “भक्तपुर काण्डको त्यो समयमा नेमकिपाका कार्यकर्ता अत्यन्त अनुशासित भई साङ्गठनिक र सैद्धान्तिक अडानमा बसे । वैचारिकरूपमा स्पष्ट राजनीतिक कार्यकर्तालाई जेलनेलले पनि विचलित बनाउन सकेन । त्यो नेमकिपाको स्कूलिङको फल हो ।”
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेमकिपाको सिद्धान्तनिष्ठ राजनीति र जनतामाझको लोकप्रियताबाट अत्तालिएको पञ्चायती शासकले नेमकिपाको समूल अन्त्यको लागि भक्तपुर काण्ड रचेको हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “साँचो अर्थमा कम्युनिस्ट राजनीति र आन्दोलन अघि बढाइरहेको नेमकिपालाई फसाउन खोज्ने पञ्चायती राज्य व्यवस्था अन्त्यका लागि पार्टीको नीतिअनुसार महिलाहरूले गरेको सङ्घर्ष महत्वपूर्ण थियो ।”
“कामदारवर्गका महिलाको सङ्घर्षबाट प्राप्त उपलब्धिहरू शोषक र शासक महिलाहरूले दुरूपयोग गरिरहेका छन् । त्यसविरूद्ध पनि महिलाहरूको आन्दोलन आवश्यक छ ।” उहाँले जोड दिनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले इतिहासतिर फर्केर सिंहावलोकन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
हिजोजस्तै आज पार्टी र सङ्गठनविरूद्ध भइरहेका षड्यन्त्रहरूविरूद्ध लड्न आवश्यक भएको चर्चा गर्दैै उहाँले भन्नुभयो, “हिजो अग्रज पुस्ताले लड्नुभयो । त्यही समयमा जन्मेका छोराछोरीलाई त्यो सङ्घर्षको इतिहास थाहा छ कि छैन ? तिनलाई सङ्गठनमा ल्यायौँ कि ल्याएनौँ ? यो विषयमा मनन गर्नुपर्छ ।”
उहाँले जोड दिनुभयो, “भक्तपुर काण्डको त्यो समयमा अग्रज नेता–कार्यकर्ताको सरदर आयु ३० देखि ३५ वर्ष हो अर्थात् युवा अवस्था । युवाहरूले पञ्चायती व्यवस्थाविरूद्ध कानुनी सङ्घर्ष गर्नुभयो । प्रवासबाट, जेलभित्रबाट भूमिगत भएर लड्नुभयो । पञ्चायती शासक या दरबार नेमकिपा र नेमकिपाका कार्यकर्ताको उमेर देखेर डराएको भन्न सकिन्छ । सबैभन्दा बढी भारतीय विस्तारवाद र एकाधिकार पुँजी नेमकिपासँग डराएको थियो किनभने त्यतिबेला ‘सुस्ता नेपालको हो’ भन्ने नेपालमा नेमकिपाबाहेक कुनै पार्टी थिएन ।
उहाँले त्यतिबेला दरबार र गुप्तचरहरूले नेमकिपा र भक्तपुरमाथि गरेको निगरानीबारे चर्चा गर्दै भन्नुभयो, “पञ्चायती शासकहरू नेमकिपाले थालेको साक्षरता कक्षा, शैक्षिक र राजनीतिक आन्दोलनबाट डराएकै हो ।”
नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैँया सुवालले भक्तपुर काण्डको समयमा महिला गतिविधि र आन्दोलनबारे चर्चा गर्नुभयो ।
शिक्षक योगेन्द्रमान बिजुक्छेँले पञ्चायती शासकहरूले थोपेको षड्यन्त्रका कारणहरू खोतलखातल गरी आफ्नो भोगाइ सुनाउनुभयो ।
केही वकिल र मानव अधिकारकर्मीहरूको सहयोगविना कानुनी सङ्घर्ष अझ कठिन हुने वास्तविकता सुनाउँदै उहाँले घटनाका नकारात्मक र सकारात्मक पक्षमाथि छलफल गरी नयाँ पुस्तालाई शिक्षित बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेक्रामसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष सृजना सैंजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका कोषाध्यक्ष गङ्गा वैद्य र मीना प्रजापतिले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार