शासक दलहरूका अनियमितताले जनतामा निराशा


दैलेख, ११ भदौ । चामुण्डा बिन्द्रासैनी नगरपालिकाको बिन्द्रासैनीमा शनिबार भक्तपुर काण्डको स्मरण कार्यक्रम भयो ।
‘समाज विकासको एक झलक’ पुस्तकको अन्तरक्रिया गरी सम्पन्न भएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले पञ्चायती सरकारले नेमकिपालाई समाप्त पार्न खोज्दा आफैँ समाप्त भएको उल्लेख गर्दै शासक दलहरूले स्थानीय तहमा ज्यादती गर्दा जनतामा निराशा बढेको प्रस्ट पार्नुभयो ।
विभिन्न अपराधीहरूलाई ठूलठूलो जिम्मेवारी दिँदा देश ठूलो दुर्घटनामा पर्न सक्ने उल्लेख गर्दै उहाँले षड्यन्त्र गर्नेहरूको अन्त्य पनि षड्यन्त्रबाटै भएको स्पष्ट पार्नुभयो । ‘समाज विकासको एक झलक’ पुस्तकको बारेमा आफ्नो विचार राख्दै उहाँले आदिम साम्यवादी समाजमा सबैमा समानता थियो र मानिसहरू लोभबाट मुक्त थिए भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनी नगर समितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेमकिपाका पूर्व केन्द्रीय सदस्य उदयजंग शाहीले नेमकिपा काम गरी खाने कामदार वर्गको पार्टी हो भन्दै वर्गसङ्घर्षको माध्यमबाट समाजवादमा पुग्न सकिने चर्चा गर्नुभयो ।
उहाँले निरङ्कुश पञ्चायती सरकारले भेरी कर्णालीमा गरेको आतङ्कको चर्चा गर्दै शत्रुभन्दा चलाख हुन नसके हामीले दुःख व्यहोर्नुपर्छ भन्नुभयो । अनुभव, ज्ञान र अध्ययनले मात्र सङ्घर्षलाई अगाडि बढाउन सकिन्छ भन्दै उहाँले समाजवादमा सबै खालका असमानताको अन्त्य हुन्छ भन्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घ दैलेखका सदस्य दीपक शाही, नेमकिपा दैलेखका मनबहादुर विक, नेमकिपा चा.वि.न.पा वडा नं. ३ का वडा समितिका अध्यक्ष हिरालाल तारामी, वडा नं. ७ का वडा समिति सदस्य भिबराम जैसी, जनप्रतिनिधि इन्द्रप्रसाद चौलागाई, कल्पना थापा, लवराज ढकाल र जयकला विकले पनि बोल्नुभएको थियो ।
नेमकिपा नगर समितिका उपाध्यक्ष कृष्ण ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डिल्ली शर्मा, केशव शाही र शान्ति शर्माले पनि बोल्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार