पुँजीवादी राजनीति खराब र फोहोरी खेल हुने


काभ्रे, १६ भदौ । “राजनीतिक कार्यकर्ताहरू जनताको आँखाको नानीसरह हुन्छ, पुँजीवादीहरूले इमानदार नेता कार्यकर्ता बिगार्ने हुनाले सजग हुनुपर्छ ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सङ्घीय सांसद प्रेम सुवालले नेपाल क्रान्तिकारी युवा सङ्घ काभ्रेद्वारा शनिबार बनेपामा आयोजित भक्तपुर काण्डको विरोध तथा भत्र्सना कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
अध्ययनविनाको पार्टी पार्टी नै नहुने भएकोले अध्ययनलाई जोड दिनुपर्ने र अध्ययन नगर्नेसँग देश विदेशसम्बन्धी ज्ञान नहुने उहाँले बताउनुभयो । “रथका दुई पाङ्ग्रा सँगसँगै नहिँडे रथ अगाडि नबढ्ने हुँदा महिलाहरूलाई पनि राजनीतिमा साथसाथै लानुपर्छ” उहाँले भन्नुभयो ।
“युवाहरूलाई कुलतबाट बचाउन असल शिक्षा दिनु आवश्यक छ । पुँजीवादले राजनीतिलाई खराब र फोहरी खेलको रूपमा स्थापित गरेको हुँदा राजनीतिप्रति युवाहरूमा वितृष्णा हुनपुग्यो । पुँजीवादले आप्mनो स्वर्ग (शोषण) कायम राख्न युवाहरू विदेश पठाउने र खराब बाटोमा लगाउने गर्छन्” सांसद सुवालले भन्नुभयो ।
भक्तपुर काण्ड जस्तो किसान आन्दोलनको बेला, सुस्ता बचाउ आन्दोलनको बेला र प्रवासमा बस्दा समेत षड्यन्त्र गरेर सिध्याउन खोजेका सानाठूला अनेकन घटनाहरू भएको उहाँले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले राजनीति सरल रेखाजस्तो नहुने बताउँदै प्रतिक्रियावादीहरूले सच्चा नेता कार्यकर्ताहरूलाई फकाउने र प्रलोभनमा पार्ने र धम्की दिने हुँदा सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो । भक्तपुरमा भएको घटनामा उपत्यका वरपरका जिल्ला र पश्चिमका जिल्लामा समेत नेमकिपाका नेता कार्यकर्ताहरूलाई आतङ्कित बनाएको उहाँले सुनाउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्र्रीय सदस्य महेन्द्र बखुन्छेँले अरूलाई खसाल्न खनेको खाल्डामा आफै खस्छ भनेझैँ नेमकिपालाई निर्मूल पार्न षड्यन्त्र गर्दा पञ्चायतकै अन्त्य भएको बताउनुभयो ।
नेमकिपा काभ्रेका अध्यक्ष ओमप्रसाद मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा मङ्गललाल सुवाल, नित्यनारायण चण्डि, ज्ञानेन्द्र डङ्गोललगायतले निरङ्कुश पञ्चायती राज्यस्तरबाट रचिएको भक्तपुर काण्ड (२०४५ भदौ ९) को भत्र्सना गर्नुभएको थियो ।

पार्टी गतिविधिहरु
समाचार