काभ्रे, ५ माघ । नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको मुखपत्र ‘केटीहरू’ बुलेटिन अङ्क १६ को सार्वजनिकीकरण नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले शुक्रबार पनौतीमा गर्नुभयो ।
कार्यक्रममा सांसद सुवालले भन्नुभयो, “दलमाथि प्रतिबन्ध लागेको निर्दलीय पञ्चायती कालमा कामदारवर्गका महिलालाई राजनीतिकरूपले शिक्षित, सचेत र सङ्गठित बनाउन ‘केटीहरू’ प्रकाशन गरिएको हो । ‘केटीहरू’ को यो प्रकाशन कामदार वर्गका महिलाहरूबिच परिचित भइसकेको छ ।”
नेपालको छिमेकी मित्र देश चीनको नीति कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नरहेको स्पष्ट पार्दै सांसद सुवालले भन्नुभयो, “चीनसँग नेपालको सीमा विवाद नेकाका प्रम बीपी कोइरालाकै पालामा समाधान गरिएको हो । नेपालमा चीनको सेना तैनाथी पनि छैन । भारतले नेपालको भूमि इलामको पशुपति नगरदेखि सप्तरीको तिलाठी र लालापट्टि, नवलपरासीको सुस्ता, कञ्चनपुरदेखि दार्चुलासम्म मिचेको छ । नेपाली भूमि कालापानीमा भारतीय सेना तैनाथी गरिएको ७२ वर्ष भयो । नेपाल र भारतबिचको सीमा नक्सा नेपालको भूमि भारतमा पर्ने गरी बनाइयो । यसकारण चीन र भारतको चेपुवामा परेको भन्नु गलत हो । केही समयअघि भारतले अमेरिकासमेतलाई आयोजक बनाई हिन्द–प्रशान्त क्षेत्रका सैन्य अधिकारीहरूको बैठक राख्यो । भारतको विशाखापटनम्मा अमेरिकी सेना तैनाथ छ ।”
नेपाल अहिले भारतीय एकाधिकार पुँजीअन्तर्गत राखेको र भारतले नेपाललाई पारवहन अधिकार नदिएकोमा उहाँले विरोध गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “राजनीतिक नेता र कार्यकर्ता जनताको आँखाको नानीजस्तै हुन् । शासक दलहरूले कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, तल्लो अरुण, अरुण चौथो, मुगु कर्णाली, तिला–१, तिला–२, फुकोट कर्णालीलगायत नदीनाला र जलविद्युत्लाई दिए । ती दलका कार्यकर्ताहरू आफ्ना नेताहरूले नेपालको हितविपरीत भारतसँग सन्धि–सम्झौता गरेको र भारतीय नेतासँग शिर ठाडो गरी नेपालको हितमा कुरा गर्न नसकेको भनी विरोध गर्छन् र त्यही नेताहरूकै भारतको पार्टीमा बस्छन् । यो ठीक होइन ।”
‘केटीहरू’ प्रकाशनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयसहित प्रकाशन गरी सार्वजनिक गरेकोमा नेपाल क्रान्तिकारी महिला सङ्घलाई नेमकिपा र अध्यक्षज्यूको तर्फबाट धन्यवाद दिन चाहन्छु । सङ्घले प्रकाशनलाई देशभरिका कामदारवर्गका महिलाबिच अन्तरक्रिया र छलफल कार्यक्रम राख्नेछ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेमकिपा काभ्रेका अध्यक्ष तथा नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले नेपाल क्रान्तिकारी महिला सङ्घले जघन्य महिला हिंसा गर्ने अपराधीहरूलाई मृत्युदण्ड दिनुपर्ने माग गरिरहेको उल्लेख गर्दै ‘केटीहरू’ महिला र पुरुषको सांस्कृतिक स्तर उकास्ने पत्रिका हो भन्नुभयो ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले राजनीतिक दलहरूले नेपाली युवालाई देशमा राख्न सक्ने वातावरण नबनाएको चर्चा गर्दै खर्चिला र भड्किला संस्कारहरूबारे हामीले पुनःविचार गर्नुपर्ने जिकिर गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका उपाध्यक्ष सुरेश परियारले प्यालेस्टिनमाथिको इजरायली युद्धको विषयमा बुलेटिनमा समावेश लेखहरूबारे चर्चा गर्नुभयो ।
इजरायल आतङ्कवादको जगमा खडा भएको देश हुनाले प्यालेस्टिनी जनताले सय वर्षदेखि दुःख पाइरहेको तर पनि प्यालेस्टिनी जनताले निरन्तर सङ्घर्ष चलाइरहेको उहाँले बताउनुभयो ।
बुलेटिनबारे लेखक तथा बुद्धिजीवी सूर्यप्रसाद लाकोजुले बुलेटिनमा विश्वका समसामयिक घटनालाई स्पष्ट दृष्टिकोणसाथ प्रस्तुत गरिएको बताउनुभयो ।
उहाँले निर्वाचनमा भ्रष्ट नेताहरू सत्तामा पुग्नुमा मतदाताको पनि दोष भएको विचार राख्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका अध्यक्ष अनुराधा थापामगरले वर्तमान कानुनबाट हुनेखाने वर्गका महिलाहरूले केही लाभ लिए पनि कामदारवर्गका महिलाहरूको निम्ति कानुन नआएको बताउनुभयो ।
पुँजीवादी व्यवस्थालाई ध्वस्त पारेर समाजवादी व्यवस्था स्थापना नगर्दासम्म हाम्रो समस्याग्रस्त दैनिकीमा परिवर्तन नआउने हुनाले महिला कार्यकर्ताहरूले बुलेटिनको वितरण, अध्ययन तथा सङ्गठन निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेक्रामहिलासङ्घ केन्द्रीय सचिव सुलोचना छ्वाजुले पनि बोल्नुभएको थियो ।