भक्तपुर, २६ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा नेमकिपा ३ नं. वडा समितिको प्रथम सम्मेलन शनिबार सम्पन्न भयो ।
सम्मेलनमा उद्घाटन मन्तव्य राख्दै सचिव सुवालले सन् १६४९ मा बेलायतका पुँजीपतिहरूले सेनासहितको सशस्त्र सङ्घर्ष गरी सामन्तवर्गको सत्ता कब्जामा लिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सन् १७७६ मा अमेरिकीहरूले सेनासहितको सशस्त्र युद्धबाट बेलायती उपनिवेशवादलाई हराएका थिए । सन् १९१७ को रुसको अक्टोबर समाजवादी क्रान्तिमा बोल्शेविक पार्टीका कम्युनिस्टहरूले सशस्त्र युद्धबाटै रुसको पुँजीवादी सरकारलाई पराजित गरेका थिए ।”
पुँजीवादी संसद् र पुँजीवादी समाजवादबाट मजदुर र कम्युनिस्टहरूको समाजवाद नआउनेतर्फ कार्यकर्ताहरू स्पष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सचिव सुवालले भन्नुभयो, “राजनीति त्याग, तपस्या र बलिदानको क्षेत्र हो । व्यक्तिगत शुभलाभको क्षेत्र होइन ।”
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरका प्रमुख सुनिल प्रजापतिले पँुजीपतिवर्गले आफ्नो स्वार्थको लागि कम्युनिस्टहरूलाई अनेक षड्यन्त्र गरी फसाउन सक्ने विषयमा विभिन्न देशमा भएको षड्यन्त्रबाट बुझ्न सकिने बताउनुभयो ।
चिलीमा पुँजीपतिवर्गको स्वार्थलाई धक्का लाग्ने देखेपछि चुनावबाट आएको सरकारलाई असफल बनाई राष्ट्रपतिको हत्या गरेको, इन्डोनेसियामा लाखौँ कम्युनिस्टहरूलाई नरसंहार गरेको, केरलामा जनपक्षीय काम गर्दा प्रतिक्रियावादीहरूले आफै उपद्रव गर्न लगाई राष्ट्रपति शासनमार्फत कम्युनिस्टहरूलाई डबाएको र पश्चिम बङ्गालमा पनि कम्युनिस्टहरूलाई नष्ट गर्न षड्यन्त्र गरेको उहाँले स्पष्ट पार्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “नेमकिपा सच्चा देशभक्त र क्रान्तिकारी पार्टी भएकोले पुँजीपतिवर्ग र प्रतिक्रियावादीहरूको लागि चुनौतीको रूपमा रहेको छ ।”
ठुला भनिएका एमाले, माओवादी संशोधनवादी पार्टी भएकाले ती पार्टीहरूबाट कामदार जनताको लागि काम हुनेछैन, उहाँले स्पष्ट पार्दै भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले एमाले र माओवादी बर्नस्टिनको विचारमा अगाडि बढिरहेको बताउनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य सृजना सैंजूले भारतले नेपालमा अनेक तवरले आर्थिक युद्ध छेडिरहेको धारणा राख्दै चीनलाई घेराबन्दी गर्न युरोप, एसिया, अफ्रिका, ल्याटिन अमेरिकालगायतका मुलुकलाई उचाल्ने नाटो सेनामार्फत उपद्रव गराउने जस्ता काम भइरहेको प्रति सचेत गराउनुभयो ।
कार्यक्रममा पार्टीका अर्का केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व, नेमकिपा भनसका अध्यक्ष नारायणबहादुर दुवाल, भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरालगायतले शुभकामना मन्तव्य तथा प्रशिक्षण दिनुभएको थियो ।
नेमकिपा ३ का अध्यक्ष रामसुन्दर खाताखोको अध्यक्षतामा भएको कार्यक्रममा सुनिता अवाल, रामकृष्ण त्वायना, राजु अवाल, आसराम वैद्य, गङ्गाराम ज्याख्वलगायतले बोल्नुभएको थियो ।
सम्मेलनमा पूर्णप्रसाद सुवाल, रामकृष्ण त्वायना, कृष्णप्रसाद सुवालले आ–आफ्नो भेगको पार्टी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
सम्मेलनले रामसुन्दर खाताखोको अध्यक्षतामा १७ सदस्यीय नेमकिपा ३ वडा समिति गठन गरेको छ ।