राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिसम्बन्धी लेखिएको विचार जनतामाझ पु¥याउनुपर्ने

भक्तपुर, ३२ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिद्वारा प्रकाशित ‘द युथ’ बुलेटिन शुक्रबार एक समारोहबिच सार्वजनिकीकरण गर्नुभयो ।
उक्त सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा अध्यक्ष बिजुक्छेँले समय सान्दर्भिक विषयमा केन्द्रित पत्रिका निकाल्नु राम्रो भएको उल्लेख गर्दै पत्रिकामा रहेका राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिसम्बन्धी लेखिएको विचार जनतामाझ पु¥याउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रकाशित पत्रिका तथा सान्दर्भिक पुस्तकहरू अन्तरक्रियामार्फत जनतामाझ पु¥याउन सके मात्र त्यसको औचित्य हुने स्पष्ट पार्दै उहाँले हरेक साहित्यिक तथा अन्य पुस्तकहरू सबैसामु पु¥याउन युवा कार्यकर्ताहरू क्रियाशील हुनुपर्छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले अध्ययन संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिँदै प्रगतिशील र देशभक्तिपूर्ण विचार अन्तर्राष्ट्रव्यापी बनाउने अभ्यास भइरहेको बताउनुभयो ।
विश्वमा भइरहेको युद्ध आतङ्कको निरन्तर विरोध गरिरहनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले इजरायलले प्यालेस्टिनमाथि गरिरहेको नरसंहारको विरोधमा विश्वका युवाहरू उठिरहेको बताउनुभयो ।
साम्राज्यवाद र विस्तारवादको समर्थन गर्नेहरू कसरी कम्युनिस्ट हुन्छन् भन्ने प्रश्न गर्दै उहाँले साम्राज्यवादको अन्त्य नभएसम्म संसारमा शान्ति नहुने प्रस्ट पार्नुभयो ।
चीन विश्वकै पहिलो ठुलो अर्थतन्त्रको देश बन्न लागेको देखेरै संरा अमेरिकाले अनेक षड्यन्त्र गरेर चीनलाई घेर्ने नीति अपनाएको उल्लेख गर्दै उहाँले आतङ्कवादविरुद्ध एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका जनता आन्दोलित भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पुँजीवादी व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद हो । नेमकिपाको लक्ष्य पूरा गर्न नेक्रायुसङ्घ क्रियाशील छ ।”
स्रष्टा समाजका अध्यक्ष लक्ष्मणराज जोशीले ‘द युथ’ बुलेटिन जानकारीमूलक, ज्ञानवर्धक र सङ्कलनयोग्य भएको उल्लेख गर्दै नयाँ पुस्तालाई देशभक्त र क्रियाशील बनाउन युवा सङ्घले प्रकाशनमा निरन्तरता दिइरहने विश्वास व्यक्त गर्नुभयो ।
पार्टीको सिद्धान्त र विचार तथा युवा सङ्घको गतविधि जनतामाझ पु¥याउन सके प्रकाशनको महत्व सार्थक हुने विचार व्यक्त गर्दै उहाँले विस्तारवादी भारतको विरोधमा लड्ने प्रेरणा युवाहरूमा दिइरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्यालेस्टिनीहरू इजरायली आक्रमणको विरोधमा एक थोपा रगत भएसम्म डटेर लडिरहेझैँ नेपाली भूमि मिच्ने भारतको विरोधमा पनि निरन्तर लडिरहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका उपाध्यक्ष सुरेश परियारले अहङ्कारवाद, फासीवाद र जातिवाद हानिकारक हुने स्पष्ट पार्नुभयो ।
विश्वमा आतङ्क मच्चाई पेट्रोलियम पदार्थ कब्जा गर्न साम्राज्यवादी देशहरू लागेझैँ नेपालका स्रोत र साधन कब्जा गर्न विस्तारवादी देशहरू लागिरहेको हुँदा सोको निन्दा गर्नुपर्ने उहाँले बताउनुभयो ।
साम्राज्यवादी देश संरा अमेरिकाले प्यालेस्टिनमा प्यालेस्टिनी जनता शून्य बनाउन इजरायललाई आक्रमण गर्न सघाउने कार्यको निन्दा गर्दै उहाँले अन्तर्राष्ट्रिय अदालतले प्यालेस्टिनमा युद्ध रोक भने पनि संरा अमेरिका र इजरायलले अन्तर्राष्ट्रिय मान्यताको उल्लङ्घन गरी आक्रमण गरिरहेको बताउनुभयो ।
नेक्रायुसङ्घका अध्यक्ष एवं कार्यक्रमका सभापति मिनबहादुर बाटाले ‘द युथ’ बुलेटिनले प्यालेस्टिनी जनताको सङ्घर्षको समर्थन गरेको उल्लेख गर्दै यसले देश र जनताको पक्षमा लड्न उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।
इजरायलले गरेको नरसंहारको विरोधमा विश्वका जनता उठिरहेको समयमा प्यालेस्टिनी जनताको पक्षमा नबोल्ने, साम्राज्यवाद र विस्तारवादको विरोध नगर्ने दल कसरी कम्युनिस्ट हुन्छ भन्नुभयो ।
कार्यक्रममा नेक्रायुसङ्घका केन्द्रीय सचिव मुना तामाङले ‘द युथ’ राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बुझ्न र जनतामा वर्गसङ्घर्षको भावना जगाउन बुलेटिनले सहयोग गर्ने बताउनुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय सदस्य रणबहादुर रानाले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।