भक्तपुर, १ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले वडाका पार्टी अध्यक्ष र भेगीय अध्यक्षहरूलाई पार्टीको प्रकाशन हस्तान्तरण गर्दै नेमकिपा वडा नं. ५ को प्रथम वडा सम्मेलन उद्घाटन गर्नुभयो ।
उक्त उद्घाटन सत्रमा पार्टी अध्यक्ष बिजुक्छेँले विदेशको पैसा खाई देश र जनताको अहितमा काम गर्ने, देशघाती र जनविरोधी सन्धि सम्झौता गर्ने विदेशी दलालहरू जनताका शत्रु हुन् भन्नुभयो ।
संसारका नयाँ नयाँ सूचना ज्ञान, विज्ञान र प्रविधिको अध्ययन गर्ने र भित्री हृदयदेखि देश र जनताको सेवा गर्ने भावनाले जनतासँग एक भई अघि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पार्टी अनुशासन र जिम्मेवारीलाई गम्भीरतापूर्वक पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
पार्टी सदस्यको कर्तव्यबारे सुसूचित गर्दै पार्टी अध्यक्ष रोहितले पार्टी या जनतामाझ झूट बोल्ने, घुस खाने, सिद्धान्त र विचार पालन नगर्ने, व्यक्तिगत स्वार्थमा लाग्ने, पार्टीको आदेश या निर्देशन पालना नगर्ने व्यक्तिहरूलाई पार्टी सदस्य बनाउन नहुने स्पष्ट पार्नुभयो ।
पार्टीको सिद्धान्त र विचार बङ्ग्याउने, जालसाजी, बेइमानी, गलत कार्य गरेर पार्टी सदस्यहरूको बदनाम गर्ने र वर्ग शत्रु खुसी पार्ने कार्यको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पार्टी अनुशासनभित्र बसेर सिद्धान्त र कार्यक्रमबारे सम्मेलनमा आफ्नो विचार राख्न पाउने बताउनुभयो ।
पार्टी अनुशासन, सिद्धान्त, विधान, नियम वा कार्यक्रमविपरीत काम गर्ने कुनै पनि समितिका पदाधिकारी वा सदस्यलाई पार्टीले कारबाही गर्न सक्ने उल्लेख गर्दै उहाँले देश, जनता र समाजलाई प्रतिकूल असर पार्ने सदस्य पार्टी अनुशासनमा नरहेको हुन्छ भन्नुभयो ।
व्यक्तिगत स्वार्थभन्दा देश, जनता र पार्टीको कार्यक्रमलाई प्राथमिकता राखेर हरेक कार्यकर्ताले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष रोहितले कम्युनिस्टहरू अनुशासित, बोली बचनमा शिष्ट, सभ्य, दूरदर्शी र समुदायप्रति समर्पित हुनुपर्छ भन्नुभयो ।
सच्चा कम्युनिस्ट पार्टीको सङ्गठन भएको ठाउँमा हरेक क्षेत्रमा समाज अगाडि बढेको स्पष्ट पार्दै उहाँले कम्युनिस्ट भनिने नेता, मन्त्री र सांसदहरू भ्रष्टाचार र अनियमिततामा फसिरहेका छन्† उनीहरूकै कारण देशको इज्जत र प्रतिष्ठामा धक्का पुगिरहेको उल्लेख गर्नुभयो ।
कम्युनिस्टको खोल ओढेर कम्युनिस्टको सिद्धान्त र विचारको उल्लङ्घन गरी कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलनको बदनाम गराउने षड्यन्त्रहरू पनि हुने हुँदा हरेक नेता तथा कार्यकताहरू सतर्क र सचेत हुनुपर्नेमा जोड दिँदै उहाँले नेता तथा कार्यकर्ताले गल्ती गरेमा आलोचना–प्रत्यालोचना गरेर सुधार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कम्युनिस्ट पार्टीको बदनाम गराउन र गलत बाटोमा लैजान पैसा दिएरै कम्युनिस्ट पार्टीमा घुस्ने र घुसाउने कार्य गर्नेतर्फ जहिल्यै सतर्क रहनुपर्नेमा जोड दिँदै अर्काको सम्पत्तिमा आँखा गाड्ने, सम्पत्ति पाउन गलत काम गर्ने कार्यकर्ताहरूलाई समयमै खबरदारी गर्नुपर्छ भन्नुभयो ।
कुनै पनि पेसामा आबद्ध व्यक्तिहरूले आ–आफ्नो दायित्व इमानदारीपूर्वक पालना गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले भन्नुभयो, “क्यानडाका डाक्टर नर्मन बेथुन लडाइँ स्थलमा पुगेर घाइते आन्दोलकारीहरूको सेवा गरे । त्यस्तै पेसामा आबद्ध कुनै पनि व्यक्तिले आ–आफ्नो कर्तव्य पालना गर्नुपर्छ; देश र जनताको सेवा गर्नुपर्छ; हरेक दिन सेवा गर्ने भावनाले काम गर्नुपर्छ† काम गर्न उत्प्रेरित गर्नुपर्छ ।”
आफ्नो देशको स्वाधीनता, सार्वभौमिकता र जनताको हितमा हुने आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कम्युनिस्ट आन्दोलन कुनै एक जात र क्षेत्रको हुँदैन भन्नुभयो ।
कुन मानिस गलत या सही भन्ने कुरा उसको भनाइ होइन काम गराइमा भरपर्छ । कुनै कवि, कलाकार, लेखक र पत्रकारले आफ्नो देशको मात्र होइन अरू देशको जल्दोबल्दो समस्याबारे लेख/रचना लेखेर जनतालाई सुसूचित पार्ने काम गर्नुपर्छ भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेश सभा सदस्य सृजना सैँजूले इमानदारी र निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्नेबाहेक नेमकिपाको अरु कुनै स्वार्थ छैन भन्नुभयो ।
नेपालको अर्थतन्त्र टाट पल्टेको स्थितिमा पुगेको चर्चा गर्दै उहाँले भन्नुभयो, “देशको आम्दानीले तलब खुवाउन पनि पुग्दैन । देशको विकास गर्ने रकम ऋणमा भरपर्छ । बरु, यहाँ व्यक्तिलाई ऋणको चिन्ता छ तर राज्यलाई छैन । के यो आर्थिक परनिर्भरताको पराकाष्ठ होइन ?
आ.व. २०८१/८२ को बजेट न समाजवादउन्मुख छ न त देश समृद्ध हुने खालको नै छ । के यो परनिर्भरताको पराकाष्ठ होइन ? विदेशसँग माग्ने सरकारले देश कसरी समृद्ध बनाउँछ ? कृषि औजारमा ताला लगाएर, मल कारखाना पनि नखोली देश कसरी समृद्ध बन्छ ?
राष्ट्रिय पुँजीपतिवर्गलाई नउठाई विदेशी पुँजीपतिवर्गको स्वार्थ पूरा गर्ने सरकारले देश र जनताको भलो नगर्ने चर्चा गर्दै उहाँले जलस्रोतको धनी देशमा जनतालाई सस्तोमा बिजुली वितरण नगरी महँगोमा ग्यास किनेर देशको रकम विदेशमा पठाएर देश कसरी समृद्ध बन्छ भन्नुभयो ।
साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकाले क्युवा, भेनेजुयलालगायतका देशमा आर्थिक नाकाबन्दी गरेर स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्ने, अरु देश जुधाएर हतियार बेचेर विश्वमा आतङ्क मच्चाइरहेको बेला शान्तिपूर्ण ढङ्गबाट सबैको विकास गर्ने बाटो रोजेर चीनले विश्व समुदायको विश्वास जितिरहेको बताउनुभयो ।
साम्राज्यवाद अन्त्य नभएसम्म संसारमा युद्ध भइरहने घटनाक्रमले देखाइरहेको सचित्र प्रस्तुत गर्दै उहाँले अहिले साम्राज्यवाद–पुँजीवाद र समाजवादको वाक्युद्ध चलिरहेको छ भन्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले वडा सम्मेलनको आवश्यकताबारे चर्चा गर्दै हरेक पार्टी सदस्यहरूले पार्टीको उद्देश्य, समाजवाद र पुँजीवादको भेदबारे थाहा पाउनुपर्ने बताउनुभयो ।
नेमकिपाले अन्तर्राष्ट्रिय भावनाअनुसार काम गरिरहेको उल्लेख गर्दै उहाँले पहिलेदेखि सङ्गठनमा काम गरेको परिणाम आज भक्तपुर अरुको लागि सिक्ने, अध्ययन–अनुसन्धान गर्ने थलो बनेको चर्चा गर्नुभयो ।
चुनावबाट समाजवाद नआउने प्रस्ट पार्दै उहाँले समाजवादी आन्दोलनको वातावरण तयार नभएसम्म निर्वाचनलाई उपयोग गरी देश र जनताको सेवा गरिरहेको प्रकाश पार्नुभयो ।
देश, समाज र जनताको निम्ति काम गर्ने कार्यकर्ताहरूको मान, सम्मान बढ्ने विश्वास दिलाउँदै उहाँले जनता सचेत र सङ्गठित नभएसम्म परिवर्तन असम्भव हुन्छ भन्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका प्रतिनिधि एवम् भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले आदिम समयदेखि यो आधुनिक समयसम्म महिलाले भोगिरहेको समस्या र पीडाबारे चर्चा गर्दै समाजवादी व्यवस्थाका चिन्तकहरूको स्मरण गरिरहनुपर्ने बताउनुभयो ।
पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद लेनिनवादलाई आधार मानेर नेमकिपाले सिद्धान्त र विचारको राजनीति गरिरहेको उल्लेख गर्दै उहाँले चुलो चौकामा सीमित महिलाहरू सचेत र सङ्गठित हुँदै समाज परिवर्तनमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा वडा नं. ५ का अध्यक्ष पूर्णगोपाल राजचलको सभापतित्वमा भएको सो सम्मेलनमा भनपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँ र वडा पार्टी सदस्य सम्झना खाइजुले पनि बोल्नुभएको थियो ।
उक्त सम्मेलनको बन्द सत्रमा नेमकिपाका सचिव प्रेम सुवालले प्रशिक्षण दिँदै भन्नुभयो, “अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र अर्थतन्त्रको मुख्य खम्बा सरकारी–सहकारी–निजी भनिए पनि विदेशी पुँजी भित्याउनेलाई जोड दिइएको छ ।”
“विदेशी पुँजीले देशलाई उपनिवेश बनाउनेछ र नेपालीलाई शोषण गरी नाफा विदेश लानेछ ।” उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “जनताको प्रजातन्त्रमा मजदुर–किसानको नेतृत्वमा देशभक्त उद्योगी–व्यापारी र प्रगतिशील बुद्धिजीवीहरूको सरकार गठन हुन्छ । जनताको प्रजातन्त्रमा विदेशी पुँजीलाई ठाउँ हुँदैन ।”
उहाँले नेपाली काङ्ग्रेसले विदेशी पुँजीको सेवा गर्ने उल्लेख गर्दै २०४६ सालपछि सरकारमा गएको नेकाको सरकारले सार्वजनिक संस्थानहरू निजीकरणको नाममा विदेशीलाई समेत बिक्री गरेको बताउनुभयो ।
उहाँले नेकाले गरेको निजीकरणलाई कम्युनिस्ट दाबी गरेको एमाले र माओवादीसमेतले समर्थन गरेको हुँदा एमाले र माओवादी भाइकाङ्ग्रेसजस्तै हुन् भन्नुभयो ।
उहाँले कहिले नेका र माओवादी तथा कहिले, एमाले र माओवादीको सरकार गठन हुनुु एमाले र माओवादी भाइकाङ्ग्रेस पुष्टि हुनु हो भन्नुभयो ।