भक्तपुर, १ असार । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिको आयोजनामा अन्तर्राष्ट्रवादी नेता चे ग्वेभाराको ९६ औँ जन्म दिवसको अवसरमा नगरस्तरीय युवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नेमकिपाको तत्कालको लक्ष्य भनेको जनताको प्रजातन्त्र भएको बताउँदै जनताको प्रजातन्त्रमा विदेशी पुँजीलाई स्थान नदिने र जनताको प्रजातन्त्र समाजवादको आधार भएको स्पष्ट पार्नुभयो ।
जनताको प्रजातन्त्रमा मजदुर किसानको नेतृत्वमा सरकार बन्ने विचार व्यक्त गर्दै सचिव सुवालले समाजवाद र साम्यवादमा जनताले कुनै पनि कुराको चिन्ता लिनुनपर्ने र उक्त व्यवस्थामा जनताको सम्पूर्ण जिम्मेवारी सरकारले लिने बताउनुभयो ।
उहाँले पुँजीवादमा राम्रो विचारलाई स्थान नदिने प्रस्ट पार्नुभयो ।
नेतृत्वको अभावमा कार्यकर्तामा अनुशासनको हराउँदै जाने हुँदा वर्तमान समयमा युवाहरू असल र सचेत हुनुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले समाजवाद र मानव विकास विषयमा प्रशिक्षण दिँदै समाजवादी विचारधाराका व्यक्तिले मात्र समाजवादलाई टिकाउन सक्ने बताउनुभयो ।
समाजवादीहरूले व्यक्तिगत स्वार्थलाई प्राथमिकतामा राख्न नहुने धारणा राख्दै उहाँले क्रान्तिको आह्वान गर्ने, क्रान्तिको बिगुल फुक्नेहरू सधैँ अग्रपङ्क्तिमा बस्नुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले वर्तमान समयमा युवाहरू सक्रिय भएर अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले द्वन्द्वात्मक भौतिकवादको विषयमा प्रशिक्षण दिँदै विचार र नैतिकता पनि भौतिक स्थितिअनुसार परिवर्तन हुँदै जाने विचार व्यक्त गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष जगतराम धुख्वाको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामेश्वर मचामसी, सुतेज दुवाल र मुना बासुकलाले पनि बोल्नुभएको थियो ।