भक्तपुर, असार २१ । कोरियाली जनतासँगको ऐक्यबद्धता समिति, नेपालद्वारा विश्व कम्युनिस्ट आन्दोलनका योद्धा तथा प्रजग कोरियाका महान् नेता किम इल सङको ३० औँ स्मृति दिवसको अवसरमा ‘स्मृतिमा किम इल सङ’ पुस्तक सार्वजनिकीकरण तथा प्रवचन कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभयो, “प्रजग कोरियामा कामरेड किम इल सङको उत्तराधिकारी किम जङ इल र कामरेड किम जङ उन क्रान्तिका उत्तराधिकारी हुनुहुन्छ, उहाँहरू छोरा र नातिको नातामा उत्तराधिकारी हुनुभएका होइनन् । क्युवामा क्यास्त्रोका भाइ राहुल क्यास्त्रो पनि क्रान्तिका उत्तराधिकारी हुनुहुन्थ्यो ।”
उहाँले भन्नुभयो– “सोभियत सङ्घमा नेता स्तालिनलाई भेट्नसमेत नदिई किरोभको हत्या गरिएको थियो । नेता स्तालिनलाई पनि मन्द विष खुवाएर हत्या गरियो । पार्टीभित्र शत्रुहरू घुसपैठ हुनेबारे सचेत हुनु जरूरी छ । देखिनेभन्दा नदेखिने शत्रुदेखि होसियार हुनु आवश्यक छ । कम्युनिस्टको लुगामा कैँची प्रयोग गर्नेदेखि सतर्क हुनु आवश्यक छ ।”
प्रतिक्रियावादीहरूले कुटील राजनीति प्रयोग गर्ने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले भन्नुभयो, “प्रतिक्रियावादीले एउटाले मार्ने अर्कोलाई दोष दिने गर्छन् । रूसमा किरोभको हत्यामा लेनिनलाई दोष दिएका थिए ।”
अध्यक्ष बिजुक्छेँले कामदारवर्गको पार्टीका कार्यकर्ताहरूमा जीउभरि आँखा हुनुपर्नेमा जोड दिँदै शत्रुले एक आपसमा भिडाउनेतर्फ कार्यकर्ता सचेत हुनु जरूरी रहेको बताउनुभयो । उहाँले थप्नुभयो, “पार्टीभित्र आलोचना र आत्मालोचना हुनु पर्दछ । जनताको आँखा दूरवीनसरह हुन्छ । राम्रो कामको प्रचार गर्नु पर्दैन ।”
अध्यक्ष बिजुक्छेँले पार्टी कार्यकर्ताहरूले पुँजीवादी विचार त्यागेर पार्टीमा आफू कहाँ छु, भन्दा पनि आफूले पार्टीलाई के योगदान गरेँ भन्नेतर्फ सोच्नु जरूरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अरूको भरमा क्रान्ति सम्पन्न हुँदैन । कोरिया युद्ध (सन् १९५०–५३) मा तत्कालीन सोभियत सङ्घले समयमा हतियार नपठाउँदा पूरै कोरिया मुक्त भएन । प्रजग कोरियाले देशको सार्वभौमिकता रक्षा गर्न अहिले हातहतियार उत्पादन गरेको हो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो– “नेकाले सुरूमा प्रत्येक निर्वाचन क्षेत्रबाट २–२ सय नेपाली युवालाई वैदेशिक रोजगारीमा पठायो । त्यसपछि सरकारमा गएकाहरूले अहिलेसम्म ८० लाख नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाए । आज यहाँको खेतबारी बाँझो छ, खाद्यान्न भारतबाट खरिद भइरहेको छ । यसकारण, नेकाका नेताहरू को को देशघाती हुन् जनताले चिन्नु जरूरी छ ।”
उहाँले स्पष्ट पार्नुभयो, “चीनसँग अनुदानमात्र लिने र विश्व बैङ्क, एसियाली विकास बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोषसँग ऋण लिने सरकारहरू अमेरिकी साम्राज्यवादका दलाल हुन् । अमेरिकी साम्राज्यवादले हातहतियार उत्पादन गरी सबैतिर बिक्री गर्दै लडाइरहेको छ ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “नेका सरकारले पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल तथा वीरगञ्जमा सुख्खा बन्दरगाह बनाउने र भारतको वाणिज्य दूतावास राख्ने प्रस्ताव ल्याएको थियो । यसबारे नेपाल मजदुर किसान पार्टीले तत्काल विरोध गरेको थियो । सञ्चालनमा नआउने विमानस्थल किन बनाइयो ? लडाइँमा सबैभन्दा पहिला विमानस्थल कब्जा गरिन्छ । काठमाडौँ–बारा द्रुतमार्ग देश भारतको कब्जामा सजिलै जाने हो ।
“मन्त्रालयका मुख्य मुख्य मानिस र भूमाफियाहरूले जग्गा किनिसकेपछि सरकारले काठमाडौँ उपत्यकाको बाहिरी चक्रपथ निर्माणमा चीनलाई लगानी गराउने तयारी गर्दै छ । बाहिरी चक्रपथको बजेटले देशको पछाडि पारिएको जिल्लामा विकास गर्नु आवश्यक छ” उहाँले भन्नभयो ।
अध्यक्ष बिजुक्छेँले थप्नुभयो, “नेकाका कतिपय प्राध्यापकहरू नेपाली विद्यार्थीहरूलाई चीनमा पढ्न पठाउने दलालले कब्जा गर्न लागेका हुन् । कोभिड–१९ को बेला चीनबाट नेपाली विद्यार्थी फर्काउन यहाँको सरकारलाई दबाब दिने पनि उनीहरू नै हुन् । चीनमा कोभिड–१९ फैलाउने अमेरिकी सरकार नै हो ।”
“शिक्षक प्राध्यापकहरूले किम इल सङको समाजवादी शिक्षासम्बन्धी कृति अध्ययन गर्नु जरूरी छ । पाठ्यपुस्तक बाहेक अन्य उपयोगी पुस्तक नपढ्ने शिक्षक, प्राध्यापक र बुद्धिजीवीबाट नयाँ पुस्तालाई धोका भइरहेको छ” उहाँले भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “सोभियत सङ्घ विघटनपछि प्योङयाङ घोषणापत्रले संसारका मजदुर, कम्युनिस्ट र साम्राज्यवादविरोधी पार्टीहरूलाई एक ठाउँमा ल्याएको थियो ।”
“कोरिया युद्धमा चीनका अध्यक्ष माओ त्सेतुङका छोरासमेतको मृत्यु भयो । सोभियत सङ्घका तत्कालीन संशोधनवादी नेता खुश्चेभ जर्मनीमा बन्दी बनाइएका आफ्ना छोरालाई छुटकारा गराउनेतर्फ लागेका थिए” उहाँले उल्लेख गर्नुभयो ।
“प्रजग कोरियामा अमेरिकी सरकारसँग युद्धविराममात्र भएको हो, फेरि युद्ध हुनसक्ने सम्भावना छ” उहाँले भन्नुभयो ।
“नेपालमा जनताको प्रजातन्त्र ल्याउन बाँकी छ” अध्यक्ष बिजुक्छेँको स्पष्टोक्ति हो ।
कार्यक्रममा कोरियाली जनतासँगको ऐक्यबद्धता समिति, नेपालका अध्यक्ष प्रेम सुवालले भन्नुभयो, “कामरेड किम इल सङबाट संसारका न्यायपे्रमी जनताले देशभक्तिको भावना, कलिलै उमेरमा क्रान्तिमा लाग्ने, देश र जनताको निम्ति अविराम सङ्घर्ष गर्ने शिक्षा लिन सकिन्छ ।”
उहाँले किम इल सङको सफलता प्रजग कोरिया र संसारका न्यायप्रेमी जनताको इतिहासमा स्वर्ण अक्षरमा लेखिने उल्लेख गर्नुभयो ।
स्रष्टा समाज, नेपालका लक्ष्मण जोशीले सन् १९५०–५३ को कोरिया युद्धदेखि कोरियाली प्रायःद्वीपमा युद्धको कालो बादल मडारिरहेको र अमेरिकी नाकाबन्दीले प्रजग कोरियालाई निकै सकसमा पारिरहँदा पनि आफ्नो लक्ष्य र उद्देश्यमा कोरियाली मजदुर पार्टी, सरकार र जनता रत्तिभर विचलित नभएको चर्चा गर्नुभयो ।
कार्यक्रममा प्राध्यापक समाज नेपालका अध्यक्ष सरोजराज गोसाईले किम इल सङको जुछे विचारधारा र समाजवादी शिक्षाले देशलाई आत्मनिर्भर र नयाँ पुस्तालाई सुसंस्कृत बनाउने उल्लेख गर्दै विद्यार्थीलाई देशको इतिहास, भूगोल, संस्कृति र प्रकृति चिनाउनु जरूरी रहेको बताउनुभयो ।
अतिथि गोसाईले विद्यालय र विश्वविद्यालयले क्रान्तिकारी उत्तराधिकारी तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै शिक्षक र प्राध्यापकहरूले किसान र मजदुरबाट समेत सिकेर युवा पुस्तालाई क्रान्तिकारी बनाउनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका अध्यक्ष अनुराधा थापामगरले कामरेड किम इल सङका जीवन साथी किम जङ सुक युद्ध मैदानमा सेनासँग लड्ने, अन्य कामरेडहरूको हेरचाहमा खट्ने तर चर्चामा आउन नचाहने वीरङ्गना भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्का अध्यक्ष मिनबहादुर बाटाले कोरियाको सङ्क्षिप्त परिचय, क्रान्ति अघि र पछिको कोरियाको अवस्थाबारे चर्चा गर्नुभयो ।
प्रमुख अतिथि बिजुक्छेँले कामरेड किम इल सङको ३० औँ स्मृति दिवसमा कोरियाली जनतासँगको ऐक्यबद्धता समिति नेपालद्वारा प्रकाशित ‘स्मृतिमा किम इल सङ’ पुस्तक सार्वजनिकीकरण गर्नुभएको थियो ।
उक्त पुस्तकमा मुख्य गरी अध्यक्ष बिजुक्छेँको प्रजग कोरिया भ्रमणमा कामरेड किम इल सङ र कामरेड रि इन मोसँगको भेटका संस्मरण र कोरियाली केन्द्रीय समाचार संस्थाको अन्तर्वार्ता प्रकाशित छ ।