भक्तपुर, २ साउन । भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणको अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिले बुधबार प्रवचन कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीहरू भ्रष्टाचारबाट मुक्त भए देश भ्रष्टाचारमुक्त हुनेछ भन्नुभयो । कतिपय देशका राष्ट्रपति र प्रधानमन्त्रीहरू पनि भ्रष्टाचारको अभियोगमा जेलमा परेका उल्लेख गर्दै उहाँले नेपालमा मन्त्रिपरिषद्को नीतिगत निर्णय भनी प्रधानमन्त्रीहरूलाई भ्रष्टाचारबाट जोगाउने काम भएको बताउनुभयो ।
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनबाट भ्रष्टाचारको अभियोग लागेका आधाआधी शासक दलका कार्यकर्ताहरू न्यायाधीशमा नियुक्त हुँदा अदालतबाट सफाइ पाएका छन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “एक वर्षयता सरकारी कर्मचारी ५२० जनालाई अख्तियारबाट मुद्दा दर्ता भएको सार्वजनिक भयो । मेलम्ची खानेपानी आयोजना, वाइडबडी जहाज, टीकापुरको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, झापाको ७८२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता, अन्तशुल्क स्टिकर खरिद, ललितपुरको गोदावरी नगरपालिकामा ढुङ्गा, गिट्टी, ठेक्का, मोबाइल उपकरण व्यवस्थापन प्रणाली खरिद, सुरक्षण मुद्रण उपकरण (टेरामक्स) खरिद, कोभिड–१९ को बेला औषधि र उपकरण खरिदमा अख्तियारले छानबिन गरी भ्रष्टाचारको मुद्दा अदालतमा दर्ता गरेको सार्वजनिक भयो ।”
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले देशभित्र र भारत प्रवासबाट देश र जनताको इमानदारीपूर्वक सेवा गरेबाट आक्रोशित भएका विदेशी दलालहरूले हाम्रा नेता र कार्यकर्ताहरूलाई दुःख दिनेमात्र होइन हत्या प्रयाससमेत गरेका छन् । २०३४–३५ सालमा पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) लाई भारत प्रवासमा गोली प्रहार गरेर हत्या प्रयास गरेकाहरूले अध्यक्षज्यूलाई पेस्तोल खेलाएको आरोप लगाउँदै छन् ।”
उहाँले पार्टी, जनवर्गीय र पेसागत सङ्गठनमा क्रान्तिविरोधी प्रतिक्रियावादीहरू घुस्नेतर्फ सचेत हुनुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
उहाँले भारततर्फ सडकजस्तो बाँध बनाउन नेपालको चुरेको गिटीढुङ्गा, बालुवा दोहनमा पनि भ्रष्टाचार भएको बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको सो कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाई, अर्का केन्द्रीय सदस्य सृजना सैँजू, नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवाल, नेपाल क्रान्तिकारी मजदुर सङ्घका उपेन्द्र सुवाल र नारायणभक्त न्हेम्हाफुकीले पनि बोल्नुभएको थियो ।