भक्तपुर, ५ साउन । यस वर्षको गाईजात्रामा ऐतिहासिक र सांस्कृतिकरूपले प्रदर्शन हुने नाचगान तथा व्यङ्ग्यात्मक प्रदर्शनी व्यवस्थित गर्ने उद्देश्यले शुक्रबार लेखक, कलाकार, कवि तथा संस्कृतिकर्मीहरूको भेला भयो ।
नेमकिपा नगर समिति भक्तपुरअन्तर्गत गठित गाईजात्रा व्यवस्थापन समितिको आयोजनामा भएको सो भेलामा नेमकिपाका सचिव एवम् सांसद प्रेम सुवालले गाईजात्रामा प्रस्तुत हुने हास्यव्यङ्ग्य परम्परागत नृत्य, गाइँचा, फाकंदाली, लुसिचा, झ्याउरेलगायतको गीतमा कामदार वर्गमाथि भइरहेको शोषण, थिचोमिचो, भेदभावको विरोधमा हुनु आवश्यक छ भन्नुभयो ।
लेखकहरूलाई लेखन स्रोत ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र पार्टीका अन्य प्रकाशन अध्ययनबाट उपलब्ध हुने चर्चा गर्दै उहाँले गाईजात्रा डबुमा नयाँ पुस्तालाई समेट्नु जरूरी छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “गाईजात्राको प्रस्तुतिमा परम्परागत सांस्कृतिक प्रस्तुतिसँगै आधुनिक प्रस्तुतिमा पुँजीवादको विकृति र समाजवादको अपरिहार्यताबारे स्पष्ट उल्लेख हुनु जरूरी छ ।”
“सरकारमा गएका कुन कुन दल कसरी जनतालाई विश्वासघात गर्दै छन्, कसरी विदेशी पुँजीका दलाल भइरहेका छन्, प्रम, उपप्रधानमन्त्री र मन्त्री पद पाउन देशको सार्वभौमिकतालाई कसरी बेच्ने तयारी गर्दै छन् ? यी सबै विषय गाईजात्रामा प्रस्तुत हुनु आवश्यक छ”, सांसद सुवालले भन्नुभयो ।
अमेरिकाका छैटौँ राष्ट्रपति मुनरोले ल्याटिन अमेरिका अमेरिकीहरूको करेसाबारी दाबी गरेकोलाई स्वाभाविक ठान्ने शासक दलहरू दक्षिण एसियामा भारतको प्रभुत्वलाई स्वाभाविक ठान्ने जनविरोधी तर्क राख्दै छन्; यो विषयलाई पनि गाईजात्रामा व्यङ्ग्य तयार गर्नु आवश्यक छ, उहाँले भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्यापछि उपराष्ट्रपति जोन्सन कार्यवाहक राष्ट्रपति भएर भियतनाममा आक्रमण गरेका थिए । त्यसबेला गाईजात्रामा जोन्सनको पुतला बनाएर प्रहसन भएको थियो । तत्कालीन पञ्चायती प्रशासनले दमन र पक्राउसमेत गरेको थियो ।”
देशको बिगँ्रदो अर्थतन्त्र, कतिपय सहकारीमा जनताको बचत ठगी, सरकारी जग्गा, कमलपोखरी व्यक्तिको नाममा दर्ता, नेपाल रेडक्रस सोसाइटीमा भ्रष्टाचार र जनस्वास्थ्यमा बेवास्ता, मालपोत, नापी, अदालतमा बेथिति, केही व्यक्तिको स्वार्थमा शेयर कारोबारको उत्तार चढाव, विकासमा भ्रष्टाचार, भन्सार कर, राजस्व चुहावटलगायत विषय समेटेर प्रहसन प्रस्तुत गर्नु आवश्यक छ, उहाँले थप स्पष्ट पार्नुभयो ।
नागरिकता विधेयक र एमसीसी सम्झौता बहुमतबाट पारित गर्ने देशघाती काम, नेपालको नदी नाला र बिजुली भारतलाई दिने शासक दलहरूको देशघाती कामको खण्डन र विरोध गाईजात्रामा हुनु आवश्यक छ । युक्रेनमा रूसविरूद्ध अमेरिकी साम्राज्यवादको छद्मयुद्ध र प्यालेस्टिनमा इजरायली फासीवादको जातीय नरसंहार र भूमि कब्जाको खण्डन पनि गाईजात्रामा हुनु उपयुक्त हुनेछ, उहाँले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भाषा, साहित्य, गायनको तर्फबाट जनताको सांस्कृतिक स्तर उठाउन टेवा पुगिरहेको चर्चा गर्दै साहित्यिक आन्दोलनलाई निरन्तरता दिइरहनुपर्छ भन्नुभयो ।
शक्ति आर्जन गर्दै सिंहदरबारमा पस्नु र पदमा पुग्नु मात्रै राजनीति होइन, गलत कार्य र विचारको खण्डन गर्नुपर्छ† विदेशी भनेपछि आँखा चिम्लेर समर्थन गर्ने र राष्ट्रघाती कदमको निन्दा गर्नुपर्छ, उहाँले भन्नुभयो ।
अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबारे उदाङ्ग्याउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले वर्गीय शोषणबाट मुक्त हुन सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
संस्कृति, सम्पदा र कलाकारहरूको सहर भक्तपुरलाई जीवन्तता दिनुपर्नेमा जोड दिँदै उहाँले विकृति, विसङ्गति र आपराधिक क्रियाकलाप रोक्न साहित्यिक र सांस्कृतिक गतिविधि भइरहनुपर्छ भन्नुभयो ।
नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष नारायणबहादुर दुवालले समाज परिवर्तनमा साहित्यकार र कलाकारहरूको देन उल्लेखनीय हुन्छ भन्नुभयो ।
जनकवि चन्द्रबहादुर उलकले वर्गविहीन समाज स्थापना गर्न साहित्यिक र सांस्कृतिक गतिविधिलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै गाईजात्रामा प्रस्तुत गीत लिपिबद्ध गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
युवा कवि दामोदर सुवालले परिवर्तनको लागि वर्गसङ्घर्ष आवश्यक छ भन्नुभयो ।
कृष्णगोविन्द लाखाजुको सभापतित्वमा भएको सो कार्यक्रममा कान्छा बासुकला, हरिसुन्दर र लक्ष्मीभक्त लासिवाले पनि बोल्नुभएको थियो ।