भक्तपुर, १ भदौ । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ भक्तपुर नगर समितिको तेस्रो भक्तपुर नगर सम्मेलनको बन्द सत्र तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भयो ।
बन्द सत्रमा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले देश र जनताको इमानदारीपूर्वक सेवा गर्नु नै राजनीति भएकोले यस्तो राजनीति कर्मचारी, शिक्षक, प्राध्यापक सबैले गर्नु आवश्यक भएको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “शिक्षकले नयाँ पुस्ताका विद्यार्थीहरूलाई देश र जनताको इमानदारीपूर्वक सेवा गर्नेबारे शिक्षित गर्नु जरुरी छ । यसकारण, नेपालको ऐन–नियममा शिक्षकले यस्तो काम गर्न नहुने प्रावधान राख्नु उपयुक्त होइन ।”
उहाँले भन्नुभयो, “शिक्षकहरूले विद्यार्थीहरूलाई पाठ्यपुस्तक सँगसँगै अतिरिक्त क्रियाकलापमार्फत शिक्षित गर्नु जरूरी छ । सरकारले विद्यार्थी उत्तीर्ण हुने अङ्क ३५ निर्धारण गरे पनि शिक्षकहरूले विद्यार्थीलाई कम्तीमा ६० अङ्क आउने गरी तयार गर्नु उपयुक्त हुनेछ ।”
शिक्षक र विद्यार्थीको स्वास्थ्य बिग्रिने पत्रु खानेकुरा, चिसो पेय पदार्थ, धूमपानलगायत मादक पदार्थबाट टाढा रहने सबैको कर्तव्य भएको र स्थानीय उत्पादनको खाद्यान्न प्रयोगलाई उत्साहित गर्नु आवश्यक भएको सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने आवाज राख्दै आएको छ । बुझ्ने विद्यार्थीले कमजोर विद्यार्थीलाई सिकाउन लगाउने व्यवस्था पनि उपलब्धिमूलक हुनेछ । शिक्षाको जग विद्यालय शिक्षा नै हो । यसकारण, विद्यालय शिक्षाका शिक्षकहरू थप मेहनती हुनु जरुरी छ । कतिपय देशमा १५ वर्षका विद्यार्थीलाई ५–८ ओटा विदेशी भाषासँगै गणित, इतिहास, चित्रकला, नृत्य, खेलकुदसमेतमा अगाडि बढाइएको छ । संसारका आदर्श व्यक्तिहरूको जीवन शिक्षकले अध्ययन गरी विद्यार्थीलाई उत्साहित गर्नु आवश्यक छ ।”
शिक्षकको हस्तलेखन राम्रो भए विद्यार्थीको लेखन पनि राम्रो हुने धारणा राख्दै सचिव सुवालले शिक्षकले विद्यार्थीहरूलाई गाएर, नाचेर, सङ्गीतको माध्यमबाट सिकाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकार विभिन्न बहानामा स्थानीय तहलाई दिएको अधिकार कटौती गर्दै हिजोको जस्तै केन्द्रीकृत एकात्मक राज्य व्यवस्था फर्काउने खेलमा लागेको बताउनुभयो ।
नेमकिपाको विचार र सिद्धान्तलाई सङ्ख्या र बन्दुकले झुकाउन नसक्ने धारणा राख्दै प्रमुख प्रजापतिले समाजवादउन्मुख शिक्षा नीतिअनुसार भनपाले सामुदायिक विद्यालयलाई गुणस्तरीय र बलियो बनाउन शिक्षामा खर्च गर्दै आएको बताउनुभयो ।
उहाँले स्थानीय सरकारलाई सङ्घीय सरकारले प्राथमिकतामा नराख्ने, विश्वास नगर्ने र कमजोर ठान्ने प्रवृत्ति गलत रहेको उल्लेख गर्दै भनपा विश्वविद्यालय सञ्चालन गर्न सक्षम रहे पनि शासक दलले स्वीकृति नदिएर जनताको चाहनाविपरीत काम गरेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेमकिपाले सिद्धान्त र विचारमा टेकेर उदाहरणीय कार्य गर्दै आइरहेको बताउनुभयो ।
उहाँले पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले युवा अवस्थामा गरेको सङ्घर्ष र दूरदर्शिताको चर्चा गर्दै नयाँ पुस्तालाई तयार गर्न शिक्षकहरू अध्ययनशील र सक्रिय हुनुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले पार्टी प्रकाशनको अध्ययनलाई जोड दिँदै व्यक्तिगत स्वार्थबाट माथि उठी सामूहिक स्वार्थ र उद्देश्य प्राप्त गर्नेतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले पार्टी प्रकाशनले राजनीतिक र सैद्धान्तिक खुराकको रूपमा काम गरेको उल्लेख गर्दै शिक्षामा कम्तीमा २४ प्रतिशत बजेट छुट्याई निःशुल्क र अनिवार्य शिक्षाको बन्दोबस्त गर्न सकिने बताउनुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय कोषाध्यक्ष चक्रबहादुर चाकतुले नेपालको शिक्षक आन्दोलनमा नेक्राशिसङ्घले प्रकाशस्तम्भको रूपमा काम गरेको उल्लेख गर्दै शिक्षकको पेसागत हकहितका साथै राजनीतिक र वैचारिकरूपमा सचेत एवं सङ्गठित बनाउन लागिपरेको बताउनुभयो ।
नेक्राशिसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष गणेशराम थुसाले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन, शैक्षिक प्रस्ताव तथा भावी कार्यक्रम पारित गरेको उक्त बन्द सत्रले विष्णुप्रसाद दुमरूको अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति निर्वाचित गरेको छ ।
बन्दसत्रमा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले फासीवाद विषयमा प्रशिक्षण दिनुभयो भने नेक्राशिसङ्घका केन्द्रीय सदस्य अम्बिका न्याइच्याईले नवनिर्वाचित समितिलाई बधाई ज्ञापन तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभयो ।