जुम्ला, ९ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा जुम्ला जिल्ला समितिले आयोजना गरेको दुईदिने प्रशिक्षण कार्यक्रम बुधबार सुरु भयो ।
सदरमुकाम खलंगामा भएको कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले नेमकिपाले कर्णाली प्रदेशका विकट ठाउँका जनतालाई समाजको आमूल परिवर्तनको राजनीतिक चेतना दिइरहेको भनाइ राख्नुभयो
उहाँले पञ्चायती निरङ्कुश व्यवस्था फाल्न नेमकिपाले नै जनतालाई प्रजातन्त्रको पहिलो प्रशिक्षण गरेको भन्दै नेमकिपाविरुद्ध जस्तोसुकै दमननीति लिए पनि नेमकिपाका कार्यकर्ताले आत्मसमर्पण नगरेको तर्क गर्नुभयो । २०४० साल चैत २७ गते नेमकिपाका दर्जनौँ कार्यकर्तालाई पक्राउको साथै पक्राउ पुर्जी जारी गरिएको उदाहरण प्रस्तुत गर्दै केन्द्रीय सदस्य गोसाईले प्रजातन्त्र आएपछि पनि नेमकिपालाई तोड्ने षड्यन्त्र जारी भएको बताउनुभयो ।
नेमकिपाले माओवादी अराजकतावादी गतिविधिको सैद्धान्तिक सङ्घर्ष गरेको भन्दै उहाँले नेमकिपाले नै पहाडका कुना कन्दरामा अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादविरुद्ध सङ्घर्षका गतिविधि सञ्चालन गरेको भनाइ राख्नुभयो । समाजवादी गणतन्त्रबारे प्रशिक्षित पार्ने अभियानलाई निरन्तरता दिनुपर्ने उहाँको तर्क थियो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य उदयजङ्ग शाहीले नेमकिपाले २०४८ सालमै एमालेलाई भाइकाङ्ग्रेस भएको ठहर गरेको भन्दै प्रतिक्रियावादीहरूले पार्टी फोड्ने जालझेल गर्नु कुनै अनौठो नभएको भनाइ राख्नुभयो । प्रत्येक कार्यकर्ताले पार्टीका सिद्धान्त तथा नीतिको गम्भीर अध्ययन गर्नुपर्ने उहाँको भनाइ थियो ।
नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष पूर्णलाल खत्रीको सभापतित्वमा भएको पहिलो दिनको प्रशिक्षणमा सहभागीले पार्टीमा आफ्नो अनुभव, पार्टीले उठाउनुपर्ने प्रश्नबारे आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष विर्खबहादुर रावत, यज्ञबहादुर बुडथापा, जयकृष्ण धरला, मानबहादुर बोहरा, लालबहादुर बुढा, मुनिनाथ योगी, सन्तबहादुर खत्री, सतलसिं रावत, जंगबहादुर शाही, धर्मेन्द्र अधिकारी, रामलिला बुढा, पार्वती खत्री, पुनवती खत्रीले आ–आफ्नो विचार राख्नुभएको थियो ।
कार्यक्रममा २०७२ माघ ९ गते निधन भएका नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, जुम्ला जिल्ला समितिका अध्यक्ष लोकराज खत्रीप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
नेमकिपाको स्थापना दिवसकै अवसरमा नेमकिपा जुम्लाले माघ ४ गतेदेखि जिल्लाका विभिन्न स्थानमा भेला तथा प्रशिक्षण कार्यक्रम थालेको हो । यसैक्रममा माघ ४ गते खोलीकोट, माघ ५ गते धरालवाडा, ६ गते उर्थु चौतारा, माघ ७ तिला त्रिवेणी, माघ ८ गते तातोपानी श्रीनगरमा कार्यक्रमको आयोजना गरेको छ ।