भक्तपुर, १२ माघ । नेपाल मजदुर किसान पार्टीको ५१ औँ स्थापना दिवसको अवसरमा नेमकिपा चाँगुनारायण नगर समिति वडा नं. ९ एकाइ समितिको आयोजनामा शनिबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेपाल मजदुर किसान पार्टीको स्थापना देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्न भएको र माक्र्स र एङ्गेल्सको शिक्षाको सार देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नु हो भन्नुभयो ।
पार्टीको जनवर्गीय र पेसागत सङ्गठनको एक वर्ष काम गरिसकेकाहरूलाई मात्र पार्टीको उम्मेदवार सदस्य बनाउन सकिने उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “पार्टीको निर्वाचित वडा समिति गाउँपालिका र नगरपालिकाका वडा समितिजस्तो सरकारी अङ्ग होइन । प्रजातन्त्रको अर्थ सरकार होइन । पार्टी नभए गाउँपालिका र नगरपालिकासँगै देश नहुनेतर्फ कार्यकर्ताहरू सचेत हुनु आवश्यक छ ।”
“नेपाल मजदुर किसान पार्टी स्वयम् विश्वविद्यालयजस्तै हो भने यसका समितिहरू विद्यालय र कलेजजस्तै हुन् । पार्टी कार्यकर्ताहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय जानकारीमा राख्नु जरूरी हुन्छ भने यसको लागि संसारका पुराना र नयाँ मजदुर र कम्युनिस्ट आन्दोलन तथा साम्राज्यवादविरोधी सङ्घर्षबारे अध्ययन गरी शिक्षा लिनु जरूरी हुन्छ”, उहाँले भन्नुभयो ।
संसारका नयाँ नयाँ सूचना, विज्ञान र प्रविधिबारे अध्ययन गरी कार्यकर्ताहरूले आफूलाई योग्य बनाउनु आवश्यक भएकोमा जोड दिँदै सचिव सुवालले भन्नुभयो, “उत्पादनका मुख्य मुख्य साधन र सेवा सामाजिकीकरण गरिनु समाजवाद हो । समाजवादबारे नबुझेकाहरूले समाजलाई परिवर्तन गर्ने गा¥हो काम गर्न सक्दैनन् । समाजलाई निर्माण गर्ने काम छिटो हुँदैन, एक सय वर्ष पनि लाग्न सक्छ । पार्टीमा लाग्नु एक बौद्धिक र सांस्कृतिक काम पनि हो ।”
उहाँले थप्नुभयो, “पार्टी कार्यकर्ताहरू व्यक्तिगत, जातीय, क्षेत्रीय, साम्प्रदायिक स्वार्थमा लाग्नु हुँदैन भने घर छाडी जनताको सेवा गर्न तयार हुनु जरूरी छ । आफ्नो र परिवारको फाइदामा मात्र ध्यान दिनेहरू पार्टी कार्यकर्ता हुनसक्दैनन् । आम्दानीअनुसार पार्टीलाई सहयोग गर्नु पार्टी सदस्यको कर्तव्य हो ।”
संसद्वादी दलका स्थानीय तहदेखि प्रदेश र सङ्घीय संसद् र सरकारका मन्त्री भएकाहरू समेत ठेकेदार, म्यानपावर, सरकारी र जनताको सम्पत्ति ठगी गर्ने भएको सार्वजनिक भइरहेको छ, यसलाई निःस्वार्थपूर्वक राजनीतिमा लागेको भन्न सकिँदैन, सचिव सुवालले स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “पार्टी केन्द्रीय समितिको अनुमतिबिना पार्टी कार्यकर्ताहरूले अन्य पार्टीसँग सहकार्यका मोर्चा वा कुनै संयुक्त गतिविधि गर्नुहुँदैन । पार्टी अनुशासनमा नबस्ने कार्यकर्ताहरूबाट देश र जनताको हित हुनेछैन । पार्टी कार्यकर्ताहरूले शत्रुको पक्षमा एक वाक्य लेख्नु र बोल्नु पनि अनुशासनविपरीत हो ।”
सचिव सुवालले भन्नुभयो, “अमेरिकी राष्ट्रपतिमा ट्रम्पको कार्यकाल सुरूसँगै क्यानडा, ग्रिनलैन्ड र पनामा कब्जा गर्ने सार्वजनिक हुनु युद्धको सङ्केत हो । अमेरिका ‘महान्’ बनाउन आफूलाई ईश्वरले बचाएको जस्ता अन्धविश्वास अघि सारी ट्रम्पले आफ्ना जनतालाई ‘मूर्ख ’ ठान्दै छन् ।”
उहाँले थप्नुभयो, “ट्रम्पले आफ्ना अग्रजहरूले रेल मार्ग, सडक मार्ग, गगनचुम्बी महल बनाएको, दुई ओटा विश्व युद्ध जितेको, फासीवादलाई हराएको दाबी गरे पनि विश्व स्वास्थ्य सङ्घ र पेरिस जलवायु सम्झौताबाट बाहिरिने उनको निर्णय अर्को फासीवाद हो ।”
ट्रम्पले क्युवालाई ‘राज्य प्रायोजित आतङ्कवादी देश’ को आरोप लगाउनु उनको क्रूर नाकाबन्दी गर्नु हो । जलवायुसम्बन्धी पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणालाई आफ्ना अमेरिकी जनताले विरोध गर्दै छन्, सांसद सुवालले भन्नुभयो ।
भेलामा नेमकिपा चाँगुनारायण नगर समितिका अध्यक्ष न्हुछेभक्त फोजुले नेमकिपाको स्थापना कामदारवर्गका जनतालाई शासकवर्गमा पु¥याउने उद्देश्यले भएको बताउनुभयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ का वडाध्यक्ष गणेश त्यातले सामन्तवाद, विस्तारवाद र पुँजीवाद समाजवादीहरुका शत्रु र बाधक हुन् भन्नुभयो ।
कार्यक्रममा राजाराम छुकां र रविन बासुकलाले पनि बोल्नुभएको थियो ।
भेलाले राजाराम छुकांको अध्यक्षतामा १७ सदस्यीय नेमकिपा चानपा वडा नं. ९ एकाइ समिति गठन गरेको छ ।